अब दोलखा जिल्ला खुला दिसामुक्त

 शम्भु गौतम     १३ भाद्र २०७६, शुक्रबार

दोलखा

दोलखा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लालाई खुला दिसामुक्त बनाउन आवश्यक पूर्वाधार तयार भैनसकेको भए पनि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
अन्य जिल्लाहरुलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्दैआएको सन्दर्भमा दोलखालाई पनि ६७ औँ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । बिहिवार खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेकी हुन् । ‘खुला दिसामुक्त जिल्ला दोलखाबासीको सान, दोलखालाई पुर्ण सरसफाइयुक्त बनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हिमाली जिल्ला दोलखालाई खुला दिसामुक्त जिल्ला घोषण गरिएको छ । २०७२ सालमै दोलखा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी थियो । विनासकारी भूकम्पका कारण संरचनाहरु ध्वस्त भएकाले त्यसबेला सो घोषणा रोकिएको थियो ।
दोलखा जिल्ला खुला दिसामुक्त घोषणा समारोहका प्रमुख अतिथि मन्त्री मगरले खुला दिसामुक्त जिल्ला घोषणासंगै सरसफाइमामा सुदृढ हुने बताइन् । सरसफाइ स्वास्थ्य र जीवनसँग जोडिएकाले जीवनस्तर उच्च रहने उल्लेख गर्दै उनले दोलखाली जनताले खुला दिसामुक्त घोषणा गर्न सहयोग गरेर राष्ट्रिय अभियानमा साथ दिएको बताइन् । सरकार असोज महिनाभित्रै खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारीमा लागेकोले सम्भवत दक्षिण एसियामै पहिलो खुला दिसामुक्त राष्ट्र हुने दावी मन्त्री मगरको छ । उनले सामाजिक कठिनाइ, अबरोध, चेतना, उत्साह, सहयोग, समर्पणका बाबजुद अभियानलाई सफल पार्ने जनता र सरकारी तथा गैरसरकारी सहयोगी संस्थाहरुलाई धन्यवाद दिइन् ।
पर्यटकीय दृष्टकोणले निकै महत्वपूर्ण दोलखामा खानेपानी व्यवस्थापनको लागि पनि उचित पहल गर्ने प्रतिबद्धता पनि उनले जाहरे गरिन् । खुला दिसामुक्त घोषणा सँगसँगै गाउँबस्ती सचेत र विकसित समाजतर्फ उन्मुख भएको उल्लेख गर्दै उनले समाज निर्माणको महत्वपूर्ण अभियानमा पाइला टेकेको दावी पनि गरिन् ।
पहिलो पटक २०६८ सालमा भीमेश्वर नगरपालिकाको तत्कालीन बोच गाविसलाई खुला दिसामुक्त गाविस घोषण गरेर अघि वढेको जिल्लाका ९ वटा स्थानीय तहको हालको तथ्याङ्क अनुसार करिव ९८ प्रतिशत अर्थात ४५ हजार ६५८ घरधुरीले चर्पीमा दिसापिसाब गर्ने गरेको पाइएको छ । पहिलो चरणमा वडा तहको वडा स्तरीय सरसफाई तथा स्वच्छता समितिले प्रमाणीकरण गरेर नगर वा गाउँपालिकालाई पेश परेपछि जिल्लाका ९ वटै पालिकाले आफ्नो पालिका खुला दिसामुक्त भएको घोषणा गरेका थिए । सबै नगर वा गाउँपालिकामा खुला दिसामुक्त घोषणा भैसकेको जानकारी जिल्ला समन्वय समितिमा प्राप्त भएसँगै जिससले प्रदेश स्तरीय सरसफाइ तथा स्वच्छता समितिलाई अनुगमनका लागि आमन्त्रण गरिएको थियो । प्रदेश सरकारबाट अनुगमन भैसकेपछि अहिले खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला सरसफाइ तथा स्वच्छता समिति दोलखाका अध्यक्ष एवं जिसस प्रमुख डबल पाण्डेले जानकारी दिए । जिल्ला सरसफाइ तथा स्वच्छता समिति दोलखाले सरकारी, गैरसरकारी निकाय समेटेर जिसस प्रमुखकै अध्यक्षतामा ११ सदस्यीय टोली गठन गरी कामलाई तीव्रता दिएको थियो । साविकका ७५ जिल्ला मध्ये हालसम्म देशका अन्य ६६ जिल्ला खुला दिसामुक्त घोषणा भैसकेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।