४ असार २०८१, सोमवार

17th, June 2024, Monday

Aaawajonline.com

गाई विक्रीबाट साँढे आठलाख आमदानी

१४ माघ २०८०, आइतवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

१४ माघ २०८०, आइतवार

चरिकोटः दोलखाको पर्यटकीय नगरी जिरीमा अवस्थित गाई अनुबांशिक स्रोत केन्द्र चालु आर्थिक वर्षमा केन्द्रमा रहेका गाई तथा साँढे बहरको लिलाम विक्रीबाट करिब साँढे आठ लाख राजश्व संकलन गर्न सफल भएको छ । केन्द्रले हालै गरेको गाई तथा साँढेको लिलाम बिक्रीबाट सो आम्दानी गर्न सफल भएको हो ।

संघीय सरकार अन्तर्गतको सो केन्द्रले हालै गरेको गाई तथा साँढेको लिलामीबाट कुल ८ लाख ४४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको केन्द्रका प्रमुख वरिष्ठ पशुविकास अधिकृत गोपाल गिरीले जानकारी दिनुभयो । लिलामीमा राखिएका अठार वटा गाई तथा उन्नाईस सांढेबहरको बडाबड प्रकृयाको आधारमा विक्री गर्दा उक्त आम्दानी भएको प्रमुख गिरीको भनाई रहेको छ ।

हाल केन्द्रमा माउ गाई ६० वटा कोरली २० वटा तथा दुहुना ३५ वटागरी जम्मा १०५ वटा गाई रहेका छन् । दुहुना गाईहरुबाट दैनिक करिब चारसय लिटर दूध उत्पादन हुने गरेको केन्द्र प्रमुख गिरीको भनाई रहेको छ । उत्पादित दूध सदरमुकाम चरिकोट स्थित गौरिशंकर डेरीले खरिद गर्ने गरेको छ । केन्द्रमा होलिस्टिन तथा जर्शी जातका गाईका अतिरिक्त कोरियाबाट ल्याइएको चारवटा उन्नत जातका कोरली गाईहरु समेत रहेका छन् ।

गाईका अतिरिक्त केन्द्रले उन्नत जातका बंगुरका पाठा–पाठी समेत उत्पादन गर्ने गरेको अनुवांशिक स्रोत केन्द्रले जनाएको छ । ल्यान्डरेर तथा योर्क सायर जातका बंगुरका पाठा–पाठी उत्पादन गरी केन्द्रले विक्री वितरण गर्ने गरेको केन्द्र प्रमुख गिरीले जानकारी दिनुभयो ।
गाई, बाच्छा, बंगुरका पाठाहरुको विक्री लगायतबाट गत आर्थिक वर्षमा केन्द्रले ९० लाख आमदानी गर्न सफल भएकोमा यो वर्ष १ करोड आमदानी लक्ष्य रहेको केन्द्र प्रमुख गिरीको भनाई छ ।

चालु आर्थिक वर्ष लक्ष्य भन्दा बढी राजश्व उठ्ने सम्भावन रहेको गाई आनुवांशिक स्रोत केन्द्र जिरीले बताएको छ । २०१४ सालमा स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिरी एकीकृत कृषि फमको रुपमा स्थापना भएकोे यो फार्म २०७५ सालदेखि गाई अनुबांसिक स्रोत केन्द्रको रुपमा सञ्चालन हुँदै आएको छ । फर्मकाे नाममा जिरीमा ८४ हेक्टर र रामेछापको गर्जाङमा १२५ हेक्टर जग्गा रहेको छ । फर्मले जिरीमा गाई तथा गर्जाङमा बाछाबाछी र साँढे पाल्दै आएको छ ।
थप सामग्री : https://ehimalayatimes.com/2024/01/195073/