लयमा फर्किए तुलबहादुर, समूहमा व्यवसाय

 आवाज संवाददाता     १५ श्रावण २०७३, शनिबार

गाउँघरमा कृषि औजार बनाउँदै आएका ताम्चेत दुधपोखरी ४ का तुलबहादुर विक एक वर्षपछि लयमा फर्किएका छन् । अघिल्लो वर्षको बैशाखको भुकम्पले घर सहित व्यवसाय गर्ने घर समेत क्षति भएपछि काम रोकेका विक अब व्यवसायले पुरानै अवस्थामा पु¥याएका छन् ।
बालीघर् प्रथा अनुसार पूख्यौंली फलामे कृषि औजारको पेशा गर्दै आएका तुलबहादुर व्यवसाय लयमा फर्केपछि सन्तुष्ट छन् । उनले वर्षौंदेखि दुधपोखरीका एक तिहाइ बढी किसानहरुको कृषि औजारको आवश्यकता पूर्ती गर्दै आएका छन् ।
तुलबहादुरले एउटा व्यवसायिक घर बनाएर आफ्ना ३ भाइ छोरालाई पनि त्यसैमा सहभागी गराएका छन् । घर भित्र आफ्नो सामान र आरन छ, अंशबण्डामा परिवार छुटिए पनि सामुहिक काम गर्दा सजिलो भएकाले सामुहिक व्यवसाय घर बनाएका हुन् ।
समयसँगै व्यवसायलाई पनि आधुनिकीकरण गरेका विकसँग आधुनिक मेसिनहरु मार्फत फलामको औजार बनाउन थालेका छन् । सामुहिक व्यवसाय घरमा फलाम काट्ने मेसिन, बेल्डिङ गर्ने र आगो फुक्ने आधुनिक मेसिन छन् ।22222
पेशालाई आधुनिक बनाउन आफ्ना छोराहरु र छिमेकीलाई समेत राखेर एउटा समूह नै बनाएका छन् । समूहका अध्यक्ष तुलबहादुर आफैं छन् । “आधुनिक मेसिनबाट श्रम पनि कम लाग्छ, काम छिटो हुने र फिनिसिङ समेत राम्रो हुन्छ” उनको छोरा ज्ञानबहादुरले भने “अब त मेसिनले पेशा पनि सजिलो भएको छ । कोइला पनि कम लाग्छ ।” काम छिटो र सजिलो हुने भएपछि कमाइ पनि राम्रो हुने गरेको उनले बताए ।
व्यवसायिक भवन निर्माणका लागि उनले स्थानीय सहकारी संस्थाबाट ऋण समेत गरेका छन् । उनका अनुसार ९ लाख खर्च भएको भवनका लागि लघु उद्यमी समूह दोलखाले ४ लाख ४२ हजार सहयोग गरेको छ । अहिले बनेको घर भुकम्प प्रतिरोधी छ । बिकले दुधपोखरीका २ सय ५० भन्दा बढी किसानहरु नियमित सेवा पु¥याइ रहेका छन् ।
लघु उद्यमी समूहले विकको परम्परागत पेशा आधुनिकीकरण गर्नका लागि पहिला पनि सहयोग गरेको थियो । समूहले विकलाई कटर मेसिन, बेल्डिङ मेसिन आगो फुक्नु मेसिन र तालिम दिएको थियो । यिनै उपकरण र तालिम उनका लागि ठूला सहयोगी बनेका छन् ।
लघु उद्योमी समूह दोलखाका कार्यक्रम संयोजक विष्णु थापाका अनुसार भुकम्पबाट क्षति भएका २६ वटा समूहलाई व्यवसायिक भवन पुर्ननिर्माणमा सहयोग गरेको बताए । लघु उद्यमी समूहले व्यवसायिक पुर्नस्थापनाका लागि १ करोड ३५ लाख खर्च गरेको छ । त्यसबाट २ सय ६१ उद्यमी प्रत्यक्ष लाभान्वित भएका छन् । दोलखामा अहिले १ हजार ८ सय ३ जना उद्यमी समूहमा आवद्ध छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।