सूचना नपाउँदै पाख्रिन सम्मानित

 आवाज संवाददाता     १६ श्रावण २०७३, आईतवार

सार्वजनिक कार्यालयमा सूचना माग गर्न अग्रिम भुक्तानी गरेको एक हप्ता वितिसक्दा पनि जिरी नगरपालिका वडा नं. ९ का विश्वनीति प्रकाशमान सिंह पाख्रिनले सूचना पाउन सकेका छैनन् । पाख्रिनले गत सोमबार डिभिजन सडक कार्यालय चरिकोटमा सूचना बापत ४८ हजार २ सय १५ रुपैयाँ बुझाएका छन् । पाख्रिनले डिभिजन सडक कार्यालयको २०७२ असोज १७ गते देखि २०७३ असार १७ गतेसम्म ६ पटक लिखित रुपमा सूचना माग गरेका थिए ।
यता  सूचना माग गर्न सबैभन्दा बढी रकम तिरेका पाख्रिन भने सम्मानित भइसकेका छन् । सूचनाको हक सम्बन्धी सञ्जाल दोलखाले आइतबार एक कार्यक्रम गरी सम्मान गरेको छ । पाख्रिनलाई फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सम्मानपत्र प्रदान गर्दै सूचनाको हकका लागि लाग्ने पाख्रिनको प्रयासको प्रशंसा गरे । सूचना मागकर्ता पाख्रिनलाई उनले माग गरेको ९ हजार ६ सय ४३ पेज रहेको कार्यालयले जनाएको छ ।
पाख्रिनले डिभिजन सडक कार्यालयमा आर्थिक वर्ष २०६६/०६७ देखि २०७१/०७२ सम्मको आलेप प्रतिवेदन र मलेप प्रतिवेदनको प्रतिलिपि, २०६८ देखि २०७१ सम्मको सवारी लग बुकको प्रतिलिपि, २०६८ देखि २०७१ सम्मको मासिक र वार्षिक खर्च फाँटबारीको प्रतिलिपि माग गरेका थिए । सडक कार्यालयमार्फत सवारी साधानको दुरुपयोग गरी पहुँचवाला व्यक्तिहरुलाई जथाभावी सवारी प्रयोग गर्न दिने, विभिन्न अपारदर्शी रुपमा खर्च हुने गरेको भन्ने सुनेकाले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३(१) र ३(२) बमोजिम आफूले सूचना माग गरेको दाबी गरे ।

सूचनाको मागकर्ता पाख्रिनले तिरेको बिल

सूचनाको मागकर्ता पाख्रिनले तिरेको बिल

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३(३) ले राष्ट्रिय, अखण्डता, सुरक्षा, मौद्रिक हित विपरीत, व्यक्तिगत, अपराध अनुसन्धान जस्ता सूचना प्रवाह गर्नु नपर्ने उल्लेख छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ७ र नियमावली २०६५ को दफा ४ बमोजिम एफोर साइजको कागजको १० प्रतिसम्म निशुल्क र त्यसभन्दा बढी भएमा प्रति पेज ५ रुपैयाँको दरले सूचना मागकर्ताले नै दस्तुर तिर्नुपर्ने उल्लेख छ । डिभिजन सडक कार्यालय चरिकोटले पनि सोही नियम अनुसार दस्तुर लिएको जनाएको छ ।
सार्वजनिक निकायको सूचना माग गर्दा सबैभन्दा बढी रकम भुक्तानी गर्ने देशमै आफैं भएको उनले दाबी गरे । “मैले यसअघि पनि जिविस दोलखा, खानेपानी डिभिजन, भूमिसुधार विभाग र सडक विभागमा समेत सूचना माग गर्दा तोकिएको दस्तुर भुक्तानी गरेको छु ।” उनले भने, “यस्ता सूचना माग गर्दा सर्वसाधारणलाई पनि हरेक गतिविधिको जानकारी हुने र कार्यालयलाई पनि सतर्क हुन सहयोग गर्छ ।” उनले आगामी दिनमा पनि नागरिकस्तरबाट सूचनाको हकको प्रयोगका लागि लागिरहने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF