पुनर्संरचनाका लागि माओवादीको सुझाव पेटिका

 आवाज संवाददाता     १६ श्रावण २०७३, आईतवार

स्थानीय निकाय पुनर्संरचनाका लागि नेकपा माओवादी केन्द्रले सार्वजनिक सुझाव लिन सुरु गरेको छ । स्थानीय निकायको पुनर्संरचनाको सीमांकनका लागि माओवादी केन्द्र, दोलखाले चरिकोट सातदोबाटो चोकमा सुझाव पेटिका राखेको छ ।
नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष बिशाल खड्काले सीमांकन, नामांकन र पुनर्संरचनाका लागि आम सहभागिताका लागि सुझाव पेटिका राखेको बताए । उनका अनुसार सुझाव पेटिका ५ दिनसम्म रहने छ । सुझाव पेटिकामा प्राप्त सुझाव समेत समेटेर पार्टीका तर्फबाट पुनर्संरचनाका आयोगको प्राविधिक टोलीलाई सुझाव सिफारिस गर्ने उनले बताए ।uuu
स्थानीय निकाय पुनर्संरचनाका लागि सुझाव दिने दोलखाका राजनैतिक दलहरुको बैठक जारी छ । काँग्रेस र माओवादीको शनिबार बैठक आव्हान गरे तापनि दुवै पार्टीको सर्वसम्मत निर्णय हुन नसकेपछि छुट्टाछुटै कार्यदल समेत बनेको छ । एमालेको पनि बिहिबार र शुक्रबार बैठक बसेको थियो । एमालेको पनि सिमांकन टुङ्गो लाग्न सकेको छैन ।
दोलखालाई जनसंख्या र भुगोलका आधारमा बढीमा ७ वटा पालिका बनाउन सक्ने गरी स्थानीय निकाय पुनर्संरचना आयोगले आधार दिएको छ । तर दल र नागरिक समाज बीचमा दोलखालाई ६ देखि ९ वटासम्म पालिका बनाउनु पर्ने गरी अभ्यास गरिरहेका छन् ।
दलहरुले भोलीको संभावित स्रोत बाँडफाँड, भुगोल, राजनैतिक महत्वका आधारमा अभ्यास जारी राखेका छन् । नयाँ शक्ति नेपाल दोलखाका संयोजक रविन्द्र कार्कीले स्रोत साधनको पहुँच, दूरीलाई समेत ख्याल गरेर गृहकार्य जारी राखेको बताए ।
स्थानीय विकास अधिकारी तथा स्थानीय निकाय पुनर्संरचना जिल्ला प्राविधिक समितिका संयोजक विष्णुप्रसाद शर्माले सकेसम्म सहमतिका आधारमा पुनर्संरचना गर्ने सर्वसम्मती नभए सबैको सुझाव समेटेर समितिले आफ्नै ढंगले सिफारिस गर्ने बताए । प्राविधिक समितिले राजनैतिक दल र नागरिक समाजलाई साउन २९ भित्र आफ्ना सुझाव दिन आग्रह गरेको छ । प्राविधिक समितिले साउन मसान्तभित्र आयोग समक्ष प्रतिवेदन पेश गर्ने कार्यतालिका छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।