८६ मेगावाटको सोलु दूधकोशी परियोजनाको लागि वित्तीय स्रोत टुङ्गिँदै

 आवाज संवाददाता     १८ श्रावण २०७३, मंगलवार
सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत परियोजनाको निर्माणका लागि वित्तीय स्रोत टुङ्गो लागेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ‘कन्सोर्टिएम लिड’ मा जलविद्युत लगानी तथा विकास कम्पनीसहित १२ बैंकले आठ अर्ब ८९ करोड रुपैयाँ लगानी गर्न लागेका हुन् ।

कन्सोर्टिएममा बाणिज्य बैंकहरु नविल, राष्ट्रिय बाणिज्य, कृषि विकास, सानिमा, सेन्चुरी, एनसीसी, प्रभु, सिभिल, सनराइज र एनएमबीले लगानी गर्ने भएका छन् । एनआईडिसी डेभलपमेन्ट बैंकले समेत यो कन्सोर्टिएमको सदस्य रहेको छ । कन्सोर्टिएम लिडर नेपाल इन्भेष्टमेन्ट बैंकले डेढ अर्ब रुपैयाँ लगानी गर्नेछ । यस्तै जलविद्युत लगानी तथा विकास कम्पनी एक अर्ब रुपैयाँ लगानी गर्न लागेको छ ।

अधिकांश बैंकका सञ्चालक समितिले लगानी सम्बन्धी निर्णय लिइसकेका छन् । केही दिनमै बैंकहरु र परियोजनाबीच लगानी सम्झौता हुने स्रोतले जानकारी दिएको छ ।१३ अर्ब रुपैयाँमा बन्ने सो परियोजनामा बैंक ऋणबाट अपुग रकम प्रबर्द्धकहरुले लगानी गर्नेछन् । साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी हाइड्रो भेन्चर प्रालि यो परियोजनाको प्रबर्द्धक हो ।

सोलु र दुधकोशी नदीको संगममा बन्न लागेको परियोजनाबाट उत्पादित विद्युत खरीदका लागि गत बर्षनै नेपाल विद्युत प्राधिकरणसँग सम्झौता (पिपिए) भएको थियो । परियोजनाले प्रतियुनिट विद्युत बापत बर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा पाउनेछ । विद्युत उत्पादन सुरु भएको आठ वर्षसम्म बर्षेनी तीन प्रतिशतका दरले विद्युतको मूल्य बृद्धि हुने जनाइएको छ ।

हाल परियोजनाको पहुँच मार्ग एवं विस्तृत परियोजना निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । आउँदो मंसिरदेखि परियोजना निर्माण सुरु गर्ने प्रबर्द्धकको लक्ष्य छ । यो सहित सोलु करिडोरमा आधा दर्जन जलविद्युत आयोजना निर्माणाधीन छन् । sorce bizmandu.com

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।