दोलखा रेडक्रसकाे ताला खुल्यो

 आवाज संवाददाता     १८ श्रावण २०७३, मंगलवार

दोलखा, १८ साउन/नेपाल रेडक्रस सोसाइटी दोलखा शाखामा स्थानीय प्रशासनले लगाएको ताला आज खोलिएको छ ।
नेपाल रेडक्रस सोसाइटी दोलखा शाखामा व्यापक अनियमितता भएको भन्ने लिखित उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले एक साता अघि छानविको लागि ताला लगाएको थियो । प्रकोपको बेला भएकोले उद्धारमा कुनै बाधा नहोस् भनेर दुईवटा कोठा र स्टोरको ताला खोलिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
गत साउन १२ गते स्थानीय प्रशासनले कार्यालयको सम्पूर्ण कोठामा सिल गरेको थियो । समस्या समाधानका लागि दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालको संयोजकत्वमा छानविनको समिति गठन गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी दोलखा शाखावाट जिल्लामा अहिले विभिन्न ५ परियोजनाहरु सञ्चालनमा रहेको तथा दैवी प्रकोपमा काम गरिरहनुपर्ने संस्था भएको कारण परियोजना सञ्चालन तथा दैवी प्रकोपको समयमा उद्धार कार्यमा कुनै वाधा नपरोस भनी कार्यालयको दुई कोठा र स्टोर खोलिएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायव सुब्वा तथा छानविन समितिका सदस्य सञ्जय नेपालले जानकारी दिए ।
परियोजना सञ्चालन तथा राहत कार्यका लागि रेडक्रस शाखाको दुई कोठा र एक स्टोरको ताला खोलिएको भएपनि सोसाइटी दोलखा शाखाका अध्यक्ष र मन्त्रीको कार्यकक्षको ताला भने खोलिएको छैन । छानविन समितिका सदस्य नेपालका अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखामा भएका गतिविधिहरुको वारेमा थप छानविनको लागि माइनुट, चेक र लेखा सम्वन्धी कागजपत्रहरु नियन्त्रणमा लिइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।