३१ सय गुनासो प्राधिकरणमा सिफारिस

 आवाज संवाददाता     १८ श्रावण २०७३, मंगलवार

भुकम्प पीडितको रुपमा नामावली छुट भएका ३ हजार १ सय ५७ जनाको गुनासो छानविन गरी पुर्ननिर्माण प्राधिकरण उप क्षत्रीय कार्यालयमा सिफारिस भएको छ । पुर्न निर्माणका लागि गाविस तथा जिल्लाको गुनासो व्यवस्थापन समिति दोलखाको मंगलबार बसेको पहिलो बैठकले १२ गाविसका ति गुनासोहरु सिफारिस गरेको हो ।
गुनासो व्यवस्थापन समिति तथा प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीको अध्यक्षतामा बसेको बैठकले गुनासो व्यवस्थापन कार्यविधि २०७३ बमोजिम गाविस तथा नगरपालिकाहरुबाट प्राप्त गुनासोहरु छानविन गरेको हो । समितिले सर्वेक्षण नभएको ३ सय २४ र सर्वेक्षण भएर पनि नाम छुट भएको २ हजार ८ सय ३३ वटा फाराम सहितको गुनासो सिफारिस गर्ने निर्णय भएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले जानकारी दिए ।
समितिले श्यामा, नाम्दू, सुस्पाक्षमावती, सुन्द्रावती, झुले, क्षेत्रपा, शैलुङ्गेश्वर, घ्याङसुकार, भेड्पू, काटाकुटी, लामिडाँडा र ताम्चेतदुधपोखरी गाविसको गुनासो सिफारिस गरेको छ । अन्य गाविसहरुको गुनासोको बारेमा पनि थप छानविन गरी सिफारिस गर्ने उनले बताए । दोलखा जिल्लाभर १८ हजार गुनासो भरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF