नेकपा माओवादी केन्द्र, दोलखामा नयाँ जिम्मेवारी

 आवाज संवाददाता     २२ श्रावण २०७३, शनिबार

नेकपा माओवादी केन्द्र, दोलखाको एकता अधिवेशन भएको २ महिना नबित्दै पुनः नयाँ कमिटी बनेको छ । माओवादी केन्द्र दोलखाको इञ्चार्ज कृष्ण भुजेल र सहइञ्चार्ज शंकर लामाले जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्रीय कार्यालयको परामर्शमा ३ नं. प्रदेश कमिटीले दोलखा सहितका जिल्लामा इन्चार्ज सहितको जिम्मेवारी तोकेको होे । माओवादी एकतापछि जिल्ला तहसम्म एकता हुन सकेको थिएन । केन्द्रीय एकताको निरन्तरता अनुसार जिल्लामा पनि माओवादीको सबै घटकलाई मिलाएर एकीकरण भएको हो ।
गत जेठ २१ र २२ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल, मात्रिका यादव र लीलामणि पोखरेलको उपस्थितिमा भएको जिल्ला सम्मेलनले बिशाल खड्का अध्यक्ष भएका थिए । उक्त सम्मेलन एक पक्षीय भएको भन्दै एकता प्रक्रियामा आएका पूर्व क्रान्तिकारी माओवादी समूहले अस्वीकार गरेपछि पुनः अर्को एकता सम्मेलन गर्न प्रदेश कमिटीले नयाँ जिम्मेवारी तोकेको हो ।
नयाँ जिम्मेवारी अनुसार खड्का संयोजक र नाम्गेल मोक्तान सह संयोजक भएका छन् । मोक्तान एकतामा रामबहादुर थापा बादल समूहबाट आएका हुन् । पार्टी केन्द्रबाट दोलखा हेर्ने जिम्मेवारी भने अमृता थापालाई तोकेको छ ।
नयाँ जिम्मेवारीप्रति पूर्व एकीकृत नेकपा माओवादी (बिशाख खड्का) पक्ष भने असन्तुष्ट छन् । “सबै जिल्लामा मिलाउँदा दोलखामा पनि नयाँ जिम्मेवारी तोकेको हुन सक्छ, तर आफूलाई आधिकारीक जानकारी छैन” खड्काले भने “दोलखाको सम्मेलन सकियो भन्ने, माथि बिर्सेको हुन सक्छ, सम्मेलन भएको ठाउँमा नयाँ जिम्मेवारी भन्ने नै हुन्न ।” लामो समयदेखि निष्कृय रहेको पार्टी संगठन बिशाख अध्यक्ष भएपछि पार्टी गतिविधि बढेको छ ।
नयाँ जिम्मेवारीपछि बादल समूहबाट एकतामा आएका सदस्यहरुको समेत चरिकोटमा छुट्टै बैठक बसेको छ । शनिबार बसेको बैठकले एकतापछिको संगठनका बारेमा छलफल भएको पूर्व क्रान्तिकारी माओवादीका नेता नाम्गेल मोक्तानले जानकारी दिए । अब जिल्लामा माओवादीको भेटघाट, छलफल तिब्र भएको उनले बताए ।
नयाँ जिम्मेवारीपछि बिशाख खड्काको ६५ सदस्य जिल्ला कमिटी, नाम्गेल मोक्तान समूहको ३१ सदस्य र अन्य एकता प्रक्रियामा आएका सदस्यहरु आगामी भदौ पहिलो हप्ता हुने एकता भेलाले जिल्ला सम्मेलन आयोजक समिति रुपान्तरित हुनेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।