बाढीले ढोलीखोला पुल बगाएपछि पुष्पलाल मार्ग अवरुद्ध

 आवाज संवाददाता     २२ श्रावण २०७३, शनिबार

दोलखा, साउन २२/अविरल बर्षापछिको बाढीले दोलखा जिल्लाको भिरकोट र जफे सिमानाको ढोलीखोलास्थित पुल बगाएपछि पुष्पलाल मार्ग अवरुद्ध भएको छ ।
शनिवार दिउँसो परेको अविरल वर्षाले पुष्पलाल मार्ग स्थित तामाकोशी मन्थली सडक खण्डको ढोली खोला पुल बगाउँदा दोलखा र रामेछाप जोड्ने यातायात अवरुद्ध भएको हो ।
पुल बगाउँदा दोलखा सदरमुकाम चरिकोटबाट वीपी राजमार्ग हुदै महोत्तरीको बर्दीबाससम्म चल्ने सवारी साधन अवरुद्ध हुने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बाढीले पुल बगाएर तामाकोशी नदीमा पुर्याएको त्यहाँ पुगेका एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए । पुल बगेर तामाकोशी नदीमा पुगेपछि केहीबेर तामाकोशी नदी थुनिएको तर त्यसको केही बेरमै नदी खुलेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले ढोली खोलाको बाढीले केही बेर अवरुद्ध बनेको तामाकोशी नदी खुलिसकेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई कुनै असर नपर्ने जानकारी दिए ।
यसै बीच शनिबार दिनभरको बर्षातले दोलखाको झ्याँकु गाविस ३ को सर्सेपु डाँडाको भीर खसेको छ । भीर खसेर तामाकोशी नदी केही बेर थुनिए पनि तटीय क्षेत्रका बस्तीहरुलाई कुनै असर नगरेको प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।