ढोली खोलामा अस्थायी फड्के, पैदल यात्रुलाई सहज
आवाज संवाददाता २३ श्रावण २०७३, आईतवार
दोलखा, साउन २३/अविरल बर्षापछिको बाढीले दोलखा जिल्लाको भिरकोट र जफे सिमानाको ढोलीखोलास्थित पुल बगाएपछि अवरुद्ध भएको पुष्पलाल मार्गमा अस्थायी फड्के निर्माणपछि आज दिउँसोबाट मानिसहरुलाई पैदल हिँड्न सजिलो भएको छ ।
शनिवार दिउँसो परेको अविरल वर्षापछिको बाढीले साँझ पुल बगाएर नजिकैको तामाकोशीमा पु¥याएको थियो । तामाकोशी मन्थली सडक खण्डको ढोली खोला पुल बगाउँदा दोलखाको दक्षिणी भेग, रामेछाप र तराई जोड्ने यातायात अवरुद्ध भएको छ ।
सवारी आवतजावत अवरुद्ध भए पनि आज दिउँसोबाट मानिसहरुको आवागमन भने सुरु भएको छ । डिभिजन सडक कार्यालय, प्रहरी तथा स्थानीय जनताको पहलमा आज दिउँसो फड्के हालिएको हो ।
तत्काल डाइभर्सन बनाउनसमेत सम्भव नभएकोले बेलीब्रिजका लागि सडक विभागमा पत्राचार गरिसकिएको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख अशोक तिवारीले बताए । उनले बेलिब्रिज हालेर सवारी आवागमन गराउन एक साता लाग्ने बताए ।
तस्विरहरु साैजन्य: प्रसनि सीताराम बाेहाेरा, प्रहरी चाैकी किर्ने
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।