दोलखामा आज खड्ग जात्रा मनाइँदै

 शम्भु गौतम     २२ आश्विन २०७६, बुधबार

दोलखा

ऐतिहासिक दोलखा बजारमा परम्परागत रुपमा मनाउने गरिएको खड्ग जात्रा आज मनाइँदै छ । बडा दशैँको टीकाको भोलिपल्ट अर्थात आज दिनभर यो जात्रा मनाउने गरिन्छ ।
सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्दै यो जात्रा मनाइन्छ । बृद्ध तथा युवाहरु दोलखा बजारको बिभिन्न टोल तथा चोकहरुमा युद्धको अभिनयसंँगै कुसुले बाजाको तालमा नाच्दै जात्रा मनाउने गर्दछन् ।
मल्लकालीन समयदेखि चल्दै आएको यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडादशैँको टीकाको भोलिपल्ट दिनभरि मनाइने परम्परा रहेको स्थानीय भरतनारायण प्रधानले बताए । पहिले छुट्टै राज्यको रुपमा रहेको दोलखा बजारमा अहिले पनि धेरै परम्परागत जात्रा पर्वहरु मनाउने गरिन्छ ।
किंवदन्ति अनुसार दानवहरुले देवदेवी तथा मनुष्यहरुलाई बिभिन्न प्रकारले दुःख दिन लागेपछि देवदेवीहरुले युद्ध गरी महिषासुर दानवको बध गरी दुःखबाट पार पाउने निष्कर्ष निकालेर युद्धको साइत जुराई भाद्र पूर्णिमादेखि युद्ध सुरु गरेका थिए । युद्ध सुरु हुनुअघि देवदेवीहरु पूजा सामग्री साथ निमन्त्रणा र सहयोगको लागि कालिञ्चोक भगवती भएको ठाँउमा गए र त्यहाँबाट आश्वासन प्राप्त गरेर फर्की दोलखा सहरको राइती भन्ने तीन धारा अगाडि यज्ञको सुरुवात गरे ।
देवदेवीले राइतीमा यज्ञ गरेको खवर पाएपछि दानवहरु यज्ञ ध्वस्त गर्न त्यस ठाँउमा आए र यज्ञमा वितण्डा मच्चाउन थाले । दानवहरुको यस्तो कार्यले देवदेवीहरु क्रुद्ध भए र दानव तथा देव देवीको बिचमा भीषण युद्ध भयो । युद्धमा दानवहरु पराजित भए र विजया दशमीको दिनमा देवदेवीले महिषासुरको शिर छेदन गरी विजय हासिल गरे । यसरी देवदेवीले युद्धमा महिषासुरको बध गरी विजय हासिल गरेको सम्झनाको लागि दोलखा सहरमा खड्ग जात्राको सुरुवात गरिएको स्थानीय बृद्धहरु बताउँछन् ।
खड्ग जात्रा मनाउन दोलखाको राजकुलेश्वरदेखि केही तल रहेको चक्र डबलीमा नवमीको दिन पुजारीहरुद्वारा चामलको भातबाट चक्रेश्वर वलि राजाको मूर्ति बनाई स्थापना गरी स्थानीय कुसुलेहरुद्वारा राँगाको बलि दिने प्रचलन समेत रहेको स्थानीय बृद्धहरुको भनाई रहेको छ ।
युद्धको लागि कालिञ्चोक भगवतीसँग सहयोग माग्न देवदेवीहरु जनै पूर्णिमाको अघिल्लो दिन जाने र जनै पूर्णिमाको दिन त्यहीँबाट निसाना लिएर आई युद्ध सुरु गर्ने परम्परा रहेको छ । कालरात्रिको दिन भीमेश्वर मन्दिरमा चारवटा राँगाको बलि समेत दिने प्रचलन रहेको छ । भीमेश्वरमा बलि दिने चारवटा राँगामध्ये एउटा राँगाको मासु ताछी घाँटी नछिनाई भीमेश्वरको मन्दिर भन्दा केही तल रहेको त्रिपुरा सुन्दरी मन्दिरमा लाने प्रचलन समेत रहेको छ । त्यसरी लानुको अर्थ महिसासुरलाई यातना दिइएको स्थानीय प्रवीण प्रधानको भनाई छ । राँगाको बलि दिनुको अर्थ भने महिषासुरको बध गरिएको प्रवीण बताउँछन् ।
दोलखाको राजकुलेश्वर मन्दिरबाट सुरु हुने खड्ग जात्रा नाच दोलखा सहरको चक्रमण्डप नकर्छेँ टोलको बौद्ध चैते, कोर्छेँ टोल, पिंगल टोलको बालकुमारी मन्दिर हुँदै भीमेश्वर डोबर डबलीमा पु¥याइने र त्यहाँ चार दानवको प्रतीक स्वरुप चार वटा राँगालाई सबैले खड्ग प्रहार गरी मार्ने चलन रहेको छ ।
भीमेश्वर डोबर डबलीबाट युद्ध नाच कालीको मन्दिर हँुदै त्रिपुरा सुन्दरी मन्दिरमा पुग्छ र त्रिपुरा सुन्दरीसँग सहायता मागी उनको नाबालक छोरा बटुक भैरबलाई घण्टा, डमरु, खड्ग सहितको राँगाको आन्द्राको माला लगाई युद्धको लागि लिएर जाने प्रचलन रहेको छ । बटुक भैरव समेतको सेना त्रिपुरा सुन्दरीबाट ढुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेव स्थान, राजकुलेश्वर हुँदै चक्रराज बलि राजाको मूर्ति स्थापना गरेको ठाँउमा पुग्ने र भीमेश्वर स्थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिईएको राँगाको टाउको राखी राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरी महिषासुरको शिर छेदन गर्दै सगुन बाजा बजाएर विजय उत्सव मनाई खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको छ ।
खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पूजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्व साधारणलाई टीका लगाई दिने प्रचलन समेत रहेको छ ।

फाइल फोटो

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।