प्रहरी दिवसमा दोलखाका ९ प्रहरी सम्मानित

 आवाज अनलाइन     २४ आश्विन २०७६, शुक्रबार

दोलखा

६४ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले उत्कृष्ठ कार्यगर्ने ९ जना प्रहरी अधिकृत र जवानहरुलाई पुरस्कृत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले आज आयोजना गरेको प्रहरी दिवसमा उत्कृष्ठ प्रहरीहरुलाई सम्मानका साथै अमर प्रहरीका परिवारलाई समेत सम्मान गरेको हो ।
आज आयोजित कार्यक्रममा उत्कृष्ठ कार्य गर्ने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चरिकोटका प्रहरी सहायक निरीक्षक चन्द्रमान तमाङलाई सम्मान गरेको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रहरी हवलदार कर्णबहादुर भारती, महमुद मिया तेली, इलाका प्रहरी कार्यालय जिरीका प्रहरी हवलदार राजकुमार थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान खेमबहादुर रावत, कविता मानन्धर, पुरुषोत्तम भुजेल र मनोहर कुमार दासलाई नगद सहित पुरस्कृत गरिएको हो ।
त्यसैगरी दिवसको अवसरमा अमर प्रहरीका परिवारहरु लक्ष्मीबहादुर पौडेल, ज्ञानुमाया बस्नेत, दीपेन्द्र श्रेष्ठ, मैँया श्रेष्ठ र चन्द्रकुमारी श्रेष्ठलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । त्यसैगरी कार्यक्रममा प्रहरी चौकी किराँतीछापका लागि निशुल्क जग्गा दान गर्ने भीमेश्वर नगरपालिका वडा नम्बर ५ का सुन्दर थापालाई समेत सम्मान गरिएको छ ।
त्यस्तै प्रहरी दिवसको अवसरमा आयोजित ब्याडमिन्टन डबलतर्फको प्रतियोगितामा प्रथम हुने प्रहरी नायव निरीक्षक यज्ञानन्द शाह र प्रहरी हवलदार कमलबहादुर माझी र द्वितीय हुने प्रहरी नायव निरीक्षक धनेश्वर चौधरी र प्रहरी सहायक निरीक्षक मनोजकुमार भट्टराईलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले स्थानीय तहले विकास र समृद्धिको सरकारको अभियानलाई सहयोग मिल्ने गरी कार्यक्रम गर्ने उल्लेख गर्दै शान्ति सुरक्षा र अन्य हिसाबले समेत प्रहरीको सहयोग महत्वपूर्ण हुने बताए । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मानबहादुर राईले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको शुभकामना मन्तव्य पढेर सुनाएका थिए । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रहरीको सलामी ग्रहण गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF