प्रतिनिधि विवादले नेविसंघको बन्दसत्र अनिश्चित

 आवाज संवाददाता     २४ श्रावण २०७३, सोमबार

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशनमा प्रतिनिधिबारे विवाद भएपछि सोमबार दिउँसोदेखि हुने भनिएको बन्दसत्र अनश्चित बनेको छ ।

११ जिल्लामा देखिएको प्रतिनिधि विवादले उग्र रुप लिएपछि बन्दसत्र अनिश्चित भएको हो । महाधिवेशन हुनुअघि नै सोबारे विवाद रहेपनि मिलाउन नेतृत्वले पटक पटक प्रयास गर्दै भएको भएपनि कुनै सहमति बन्न सकेको छैन । तर, नेविसंघका प्रवक्ता यूपी लामिछानेले विवाद मिलाउन छलफल चलिहेको भन्दै भोलिसम्मा सहमति जुट्ने दाबी गरे ।
महाधिवेशन सम्पन्न गराउनका लागि गठन गरिएको निर्देशक समितिका संयोजक एवं पुर्वमन्त्री प्रकाशरण महतको घरमा आइतबार देखि नै चलिरहेको छलफल अझै टुंगिएको छैन ।
प्रतिनिधि छनोट हुन नसकेका ११ जिल्लाबाट कसरी प्रतिनिधि छनोट गर्ने भन्नेबारे विद्यार्थी नेताहरुले आ–आफ्नै अडान राखेका छन् ।

यता प्रतिनिधि छनोट भएर आएका ६४ जिल्लाको सवालमा समेत कांग्रेस नेता कृष्ण सिटौला पक्षधर मानिएका कुन्दनराज काफ्ले समुहले असन्तुष्टि जनाएका छन् ।
६४ जिल्लाबाट आएका प्रतिनिधिहरु ऋषिकेश जंग शाह र नेविसंघका संयोजक रञ्जित कर्णले आफुखुसी छनोट गरेको भन्दै काफ्ले समुहले असहमती जनाएका हुन् ।
‘६४ जिल्लाको सवालमा पनि टुंगिएको छैन’ निर्देशक समितिको सदस्य तथा पार्टीका केन्द्रिय सदस्य प्रदिप पौडेलले भने, ‘छलफल भइरहेको छ, हामी अब करीब–करिब अन्तिममा पुगेका छौं ।’

११ जिल्लाको विवाद मिलाउन प्रकाशशरण महत, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायतका नेताहरु आइतबार देखि नै लागीपरेका थिए । तर छलफलका क्रममा काठमाडौं उपत्यकाका स्ववियु निर्वाचन नभएका कलेजहरु, सिटीईभीटी र विश्वविद्यालयबाट समेत मनपरी ढंगले प्रतिनिधि ल्याएको खुलेपछि नेताहरु नै आश्चर्यमा परेका छन् ।

पार्टीका नेताहरुको स्वार्थ नमिल्दा नेविसंघले सोलुखुम्बु, रुपन्देही,कास्की, पर्सा, धनुषा, भक्तपुर, रौतहट, सिराहा, मुस्ताङ, कञ्चनपुर र सुर्खेतबाट प्रतिनिधि छनोट हुन सकेका थिएनन् ।
कांग्रेस पौडेलका अनुसार निर्देशक समिति अब भागबन्डा गरेर प्रतिनिधि विवाद मिलाउने निष्कर्षमा पुगेको छ ।
यसरी प्रतिनिधि विवाद मिल्न नसकेपछि सोमबार विहान प्रतिनधिहरुलाई बाँड्ने भनिएको झोला सहितका डकुमेन्ट समेत वितरण हुन नसकेको नेविसंघको ११ औं महाधिवेशनमा महामन्त्रीको दाबेदार रहेका मोतीलाल भण्डारीले जानकारी दिए ।
नेविसंघका उपाध्यक्ष तथा नयाँ कार्यसमितीमा अध्यक्षका दावेदार रहेका रत्न कार्कीले प्रतिनिधिको टुंगो नलाग्दा प्रतिनिधि पास समेत वितरण हुन नसकेको बताए ।

सहमतिको प्रयास भइरहेकाको भनिएपनि कहिलेदेखि बन्दसत्र सुरु हुने भन्नेमा अन्योलता छाएको महाधिवेशन प्रतिनिधिहरु बताउँछन् ।

विवाद उत्पन्न भएसँगै केहि दिन महाधिवेशन लम्बिन सक्ने भण्डारीले बताए । पूर्व निर्धारित कार्यक्रमअनुसार आज बन्द सत्र र भोलि नेतृत्वको चयन गर्दै महाधिवेशन सक्ने तय गरिएको थियो । महाधिवेशन आइतबारदेखि सुरु भएको थियो

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।