मन्थली विमानस्थल सुचारु, तारा एयरको परिक्षण उडान

 आवाज संवाददाता     २४ श्रावण २०७३, सोमबार

रामेछाप विमानस्थलबाट निजी क्षेत्रको तारा एयरले सोमबार बिहान परिक्षण उडान गरेको छ । लुक्लाबाट क्याप्टेन इश्वर राज जोशीले उडाएको टुइनअटर जहाज रामेछाप विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाज रामेछापबाट कार्गो उडान गरी फेरी लुक्ला नै फर्केको छ  ।

विमानस्थल कालोपत्रे गर्नका लागि झण्डै १३ महिना रामेछापबाट उडान र अवतरण गर्न रोक लगाइएको थियो । नेपाल नागरिक उडड्न प्राधिकरणले लगाएको रोक केही दिन अघि मात्र खुल्ला गरेको रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख केदारप्रसाद सत्यालले बताएका छन् ।

कालोपत्रेका लागि बन्द हुनु अघि पनि तारा एयरले रामेछापबाट लुक्लाका लागि दैनिक सरदर १० पटक कार्गो उडान गर्ने गरेको थियो । काष्ठमण्डप र गोमा एयरले समेत रामेछापबाट कार्गो उडान गर्ने गरेका थिए । नेपाल आयल निगमले हवाइ इन्धनको डिपो राखेकोले लामो उडान गरेका जहाजलाई रामेछापमै इन्धन भर्ने सुविधा उपलब्ध छ ।

रामेछाप विमानस्थल मौसमका हिसाबले उडान र अवतरणका लागि १२ महिना उपयुक्त मानिन्छ । उडान र अवतरणको चाप नभएकाले कार्गो उडानका लागि हवाई कम्पनीहरुको रामेछाप रोजाइमा पर्ने गर्छ । कुल ५ सय २० मिटर लम्बाईको कोलोपत्रे विमानस्थलमा टुइनअटर, डोर्नियर र पिलाटसपोर्टर बाहेक अन्य जहाज अवतरण गर्न सक्दैनन् ।

तत्कालिन पञ्चायती शासक नवराज सुवेदीले जनश्रमदान जुटाएर निर्माण गरेको उक्त विमानस्थल २०३५ साल देखि संचालनमा आएको हो । घाँसे मैदान भएकाले बाह्रै महिना संचालन गर्न सकिने विमानस्थल संचालनको ३८ बर्ष पछि बल्ल कालोपत्रे भएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF