अमेरिकामा बन्दुक उन्मादको शिकारले उजाडियो नेपाली परिवार

 आवाज संवाददाता     २७ श्रावण २०७३, बिहीबार

ड्यालस (अमेरिका)– बन्दुक उन्मादको शिकारले एउटा नेपाली परिवार अमेरिकामा उजाडिन पुगेको छ । गत वर्ष बन्दुक उन्मादले ग्रस्त एक अश्वेत अमेरिकन युवाले हानेकोे गोली लागेर आफ्नै स्टोरमा प्राण त्यागेकी समिरा शिवाकोटीका पति नवराज शिवाकोटीले आइतबार त्यही पीडा भुल्न नसकेर आत्महत्याको बाटो रोजेका छन् ।

साँढे तीन वर्ष र दुई वर्षका दुई छोरीको मायाले पनि नवराजलाई बाँच्न प्रेरित गर्न सकेन । टेक्सससँगै सीमा जोडिएको ओक्लाहोमामा पुगेर उनले आत्महत्या गरे । उनको आत्महत्यासँगै नेपालको दोलखाबाट ठूलो सपना बोकेर अमेरिका आइपुगेको शिबाकोटी परिवार पुरै उजाडिएको छ । अमेरिकामै जन्मिएका दुई साना नानीहरुलाई आमा–बाबुले छाडेपछि उनीहरुको लालनपालन र भविष्य सुन्दर बनाउने जिम्मेदारी आइलागेको छ नवराजका दाजु विष्णुको काँधमा ।
गत वर्षको जुन १० तारिकमा उनीहरुको परिवारमा ठूलो ग्रहण लाग्यो । डेन्टनको ‘दी कोलोनी’ मा आफ्नै ग्याँस स्टेसनमा ग्राहक बनेर आएका एक अश्वेत युवकले गोली हानेर समिराको हत्या गरे । अनि चार जनाको यो सुन्दर र सौम्य परिवारमा खण्डग्रास ग्रहण सुरु भयो । आइतबार नवराजले पनि आत्महत्या गरेपछि परिवारमा पुरै खग्रास सूर्यग्रहण लागेको छ ।
बुधबार ड्यालसको ‘हग्स फनरल हाउस’ मा गरिएको अन्तेष्टीमा दुई साना नानीहरुलाई देखेर आँखाबाट बलिन्द्रधारा आँशु नचुहाउने कोही नेपाली भएनन् । नवराजका दाजु विष्णुले आफ्नो भाईको निधनको कारणबारे अन्तेष्टीका लागि उपस्थित नेपाली समुदायलाई जानकारी गराउँदै गर्दा नवराजकी जेठी छोरी ठूलो बुबाको अघिल्तिर रोष्ट्रममा झुम्मिएकी थिइन् ।

अपराधीको क्षणभरको उन्मादमा परेर गत वर्षमात्र आमा गुमाएकी ती अवोध अनि निर्दोष बालिकाले जन्मदिने बाबुलाई आइतबारबाट गुमाएकी छिन् । भगवान पनि कति निर्दयी र कठोर हुन्छन् । हुनतः ठूलोबाबु विष्णुले ती दुई अवोध बालिकाको लालनपालनमा कुनै कमजोरी गर्नेछैनन् । बाआमाको अभावको महसुस हुन दिनेछैनन् ।

विष्णुका दुई छोरा छन् । उनले भाईका दुई छोरीहरुलाई कुनै अभाव र कमि कमजोरी हुन नदिएर आफ्नै सरह गरेर पाल्ने बताएका छन् । विष्णुले दुई छोरीको पालन पोषणमा कुनै कमीकमजोरी हुन नदिनेमा नेपाली समुदाय विश्वस्त छन् । तरपनि जस्ले जन्म दियो ती दुबैजनालाई सानै उमेर (जान्ने बुझ्नै नहुँदै) गुमाउनुपरेको छ ।

पत्नी वियोगको पीडालाई किन भुल्न सकेनन् नवराजले ? १४ महिनासम्म पनि उनले आफूलाई सम्हाल्न सकेनन् । पछिल्लो समयमा डेन्टन अदालतमा मुद्धाको अन्तिम सुनुवाई भइरहेको थियो । यही मुद्धाले गर्दा पनि उनले सन् २०१५ जुन १० को त्यो कालोदिनलाई भुल्न सकेनन् । ‘उसले (नवराज) आफूलाई सम्हाल्न सकेन,’ दाजु विष्णुले भने ।

ओक्लाहोमामा घाइते अवस्थामा भेटिएका नवराजलाई एअर एम्बुलेन्सबाट प्लानो हस्पिटलमा ल्याएर उपचार गरिएको थियो । तर असाध्यै कठिन अवस्थामा रहेकाले संसारभरकै स्रोत साधन र दक्ष चिकित्सकको उपलव्धताबीच पनि उनले मंगलबार प्राण त्यागे ।

अन्तेष्टी समारोहमा नवराजका दाजु विष्णुले व्यक्त गर्नुभएको भनाईले पनि संकेत ग¥यो कि उनी बाँच्नबाट अघाइसकेका थिए । ‘उसले शनिबार दिउँसो स्टोरको सबै हिसाबकिताब, सेल्स ट्याक्स (बिक्रीकर) को विवरण तयार गरेर छाडेको रहेछ,’ विष्णुले भनेका छन् । भाउजुलाई आफू  राति अबेरमात्र फर्कन्छु भनेको र रातिसम्म पनि नआएपछि खोजी तीब्र बनाइएको थियो ।
नवराजका मातापिता, दाजुभाउजु अमेरिकामै छन् । ग्याँस स्टेसन चलाएर सुखद् पारिबारिक वातावरणमा रमाइरहेका उनी गत वर्ष पत्नी गुमाउनुपरेपछि मानसिक रुपमा असाध्यै दुखित थिए ।

सन् २००४ मा नवराजको परिवार अमेरिका आएको थियो । उनीभन्दा अघि सन् १९९६ मा विष्णु अमेरिका आएका थिए । अमेरिकामा सुखद् सपना सँगालेर आएका शिवाकोटी परिवार खण्डित हुन पुगेको छ । गत वर्ष समिराको असामयीक निधन, अझै उल्लेख गर्नुपर्दा आपराधीको हातबाट जीवन गुमाएपछि शोकाकुल बनेको नेपाली समुदाय नवराजको निधनले थप शोकाकुल भएको छ । साभार  िहमालयन खवरवाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।