आधिकारिक ट्रेड युनियनमा पदभार ग्रहण

 आवाज संवाददाता     २८ श्रावण २०७३, शुक्रबार

दोलखा, २८ साउन/करिब अढाइ महिनाअघि सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले आज पदभार ग्रहण गरेका छन् ।
देशभरको निर्वाचनमा पहिलो भएको निजामती कर्मचारी संगठनका दोलखा अध्यक्षसमेत रहेका भीमबहादुर शिवाकोटीले आधिकारिक ट्रेड युनियन, दोलखाको अध्यक्षको पदभार ग्रहण गरेका छन् । त्यसैगरी उपाध्यक्षमा अर्जुन काफ्ले, सचिवमा कमल पराजुली कोषाध्यक्षमा सुर्जा दाहाल र सदस्यहरुमा शम्भु वराईली, रामु पौढेल, अर्जुन रिमाल, मुरारि दुलाल, राजन खड्का, कृष्णकुमार श्रेष्ठ रहेका छन् ।
जेठ १९ गते देशभर सम्पन्न भएको निर्वाचनमा निजामती कर्मचारी संगठन पहिलो भएको थियो भने नेपाल निजामती कर्मचारी युनियन आधिकारिक दोस्रो र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती तृतीय भएको थियो । पहिलो भएको संगठनले अध्यक्ष, कोषाध्यक्ष, सहसचिव र तीन सदस्य पाएको छ भने दोस्रो भएको युनियनले उपाध्यक्ष र २ सदस्य पाएको छ । त्यसैगरी तेस्रो भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले सचिव र एक सदस्य पाएको छ ।
नेपाल निजामती कर्मचारी संगठन दोलखाका अध्यक्ष समेत रहेका भीमबहादुर शिवाकोटी आधिकारिक ट्रेड युनियनको अध्यक्ष भएपछि खाली भएको निजामती कर्मचारी संगठन दोलखाको अध्यक्षमा संगठनका सचिव विमलकुमार श्रेष्ठ चुनिएका छन् ।
आज जिल्ला सरकारी वकिल कार्यालयमा भएको कार्यक्रममा दोलखाका का.मु. जिल्ला न्यायाधिवक्ता प्रतिमा भट्टराईले आधिकारिक ट्रेड युनियनका अध्यक्ष पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।