सेभ द चिल्ड्रेनको गाडीमा विप्लव माओवादीले तोडफोड गरे

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार

सिन्धुपाल्चोक-नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा माओवादी, सिन्धुपाल्चोकले सिन्धुपाल्चोकको चौतारामा रहेको ‘सेभ द चिल्ड्रेन’ को कार्यालयमा हमला गरेको छ । विप्लव माओवादी कार्यकर्ताहरूले २ वटा गाडी र १ वटा मोटर साइकलमा पनि क्षतिग्रस्त पारेका छन् ।

कम्ब्याट ड्रेसमा आएका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेको जनाइएको छ । घटनास्थलमा विप्लव नेतृत्वको माओवादीको पर्चा भेटिएको छ । ‘नेपाल बन्द आव्हान सफल पारौं, देशमा भएका भ्रष्टाचार, कालोबजारी, नियन्त्रण गर’ जस्ता नारा पर्चामा लेखिएको छ ।

सो कारबाहीबारे सो पार्टीले  एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो भनाइ स्पष्ट पारेको छ । विज्ञप्तीमा यसलाई कारवाही शुरु गरिएको भनिएको छ । यसले यस्ता कारवाहीहरु अरु हुन सक्ने संकेत दिएको छ ।

विज्ञप्तिमा  छ –

१- आजको दिनसम्म ५ अर्बभन्दा माथिको काम गरे पनि कुनै हिसाब किताब पारदर्शी नभएको ।

२-यस संस्थाले जति पनि राहत सामग्रीहरू बितरण गरेको छ, त्यो सबै गुणस्तरहीन भएको ।

३- निश्चित व्यापारीहरूसित मिलेर कमिसन लिएर जनतालाई निश्चित पसलमा सामग्री खरिद गर्न बाध्य बनाएको । सामानको मूल्य साविकको भन्दा दोब्बर पार्न लगाएको ।

राष्ट्रियता, जनजीविकाका पक्षमा तथा भ्रष्टाचार, कालो बजारीका विरुद्ध आफने पार्टीले संघर्ष गरिहेको सो पार्टीका नेता बताउछन् ।

यस विषयमा ‘सेभ द चिल्ड्रेन’ धाराणा बाहिर आएको छैन ।

पश्चिमा लगानीमा चलेको यस्ता आइएनजिओले नेपाल विरुद्ध जासुसी गर्ने गरेको आरोप विप्लव माओवादीले लगाउने गरेको छ ।सो पार्टीका एक नेताले यस्ता कारवाही अरु पनि हुने दावी गरेका छन् ।यस अघि सो पार्टीले केही भारतीय गाडीमा आगजनी गरेको थियो ।

यस अघि पनि विप्लव माओवादी कार्यकर्ताले सेभ द चिल्डेनको दोलखामा रहेको कार्यालय अगाडी राखेको गाडीमा आक्रमण गरेका थिए । –

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।