ज्याला र ढुवानी बढ्यो, किबी र अलैंचीको विरुवाको मूल्य घट्यो

 आवाज संवाददाता     ३० श्रावण २०७३, आईतवार

दोलखामा श्रमिकको ज्याला र ढुवानी बढेको छ । जिल्लाको स्थानीयस्तरमा उपलब्ध हुने श्रमसीपको स्तर, श्रमिकको उमेर र दैनिक काम गर्ने अवधिलाई आधार मानेर कामदारको ज्यालामा र ढुवानीदरमा वृद्धि गरी लागू गरिएको छ । तर किबी र अलैंचीको विरुवाको मूल्य घटाएको छ । अलैंचीको विरुवाको मूल्य २० प्रतिशत र किबीको विरुवामा ३ सय प्रतिशत घटेको हो ।
आर्थिक वर्ष २०७३÷०७४ को प्रयोजनको लागि मूल्य अभिबृद्धि कर बाहेक यसअघि प्रतिदिन ८ घण्टाको ज्याला ६ सय ४० रहेकोमा बृद्धि गरी ७ सय ३५ पुगेको छ भने ट्रकद्वारा ५० किलोमिटरसम्मको प्रतिटन प्रतिकिलोमिटर ढुवानी दर मूल्य अभिवृद्धि करबाहेक पक्कि सडकका लागि १८ रुपैयाँ १५ पैसा रहेकोमा बृद्धि गरेर रु. २० निर्धारण गरिएको छ भने कच्चि सडकको लागि ४० रुपैंया निर्धारण गरिएको छ । जुन पक्कि सडकमा प्रतिकिलोमिटर प्रति केजी ५ पैसा र कच्चिमा १० पैसा हुन्छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४८ अनुसार जिल्ला दररेट निर्धारण समितिको साउन ११ गते बसेको बैठकले आव २०७३÷०७४ का लागि विभिन्न सेवाहरुको ज्याला र ढुवानीदरमा सो बराबरको वृद्धि गरेको हो । समितिले कामदारको ज्यालादर, ढुवानी दर, निर्माण सामग्री र ढुवानीको दररेट, सरकारी कार्यालयमा आवश्यक मालसमानको दर र मेशिन तथा उपकरणको भाडा सम्वन्धि निर्णय गरेको हो ।
समितिको बैठकले निर्धारण गरेको ज्यालादरमा ४ देखि ५ हजार मिटर उचाईसम्म (सडक यातायात नभएको स्थानमा)को ज्यालादरमा ५० प्रतिशत र ५ हजार मिटरभन्दा माथि उचाईका लागि श्रमिक ज्यालामा शतप्रतिशत थप गर्ने निर्णय गरेको छ । दक्ष कामदार अन्तरगत १७ उपशीर्षक, अदक्ष कामदार अन्तरगत १० उपशीर्षक, सुरक्षा सम्वन्धी कामदार अन्तरगत ४ उपशीर्षक, हेल्पर, अपरेटर अन्तरगत ६ उपशीर्षक, ड्राइभर अन्तरगत ३ उपशीर्षक, सुपरभाइजर अन्तरगत ५ उपशीर्षक र अन्य कामदार अन्तरगत १७ उपशीर्षकमा ज्यालादर र ढुवानी दर परिवर्तन गरिएको छ ।
ढुवानी दर सम्वन्धमा मानियस (भरिया)द्वारा ढुवानी गर्दा सजिलो सामानलाई प्रतिकेजी प्रतिकिलोमिटर ९५ पैसा, असजिलो सामानालाई प्रतिकेजी प्रतिकिलोमिटर १ रुपैयाँ १० पैसा, अतिअसजिलो सामानलाई प्रतिकेजी प्रतिकिलोमिटर १ रुपैयाँ २० पैसा लागू गर्ने निर्णय गरेको छ । लोड र अनलोड गर्दा सजिलो सामानलाई प्रतिक्वीन्टल रु. ४०, असजिलो सामानलाई प्रतिक्वीन्टल रु. ७५ र अतिअसजिलो सामानलाई प्रतिक्वीन्टल रु. १०० निर्धारण गर्ने निर्णय गरिएको छ ।
सरकारी कार्यालयमा आवश्यक पर्ने मालसामान सम्वन्धी गरिएको निर्णयमा अधिकाँस सामग्रीको दर बढाइएको छ भने अलैंचीको विरुवाको रु. १० बाट रु. ८ मा घटाउने निर्णय गरिएको छ भने किवीफलको विरुवाको पनि रु. ५ सय ७ बाट घटाएर रु. २ सय निर्धारण गरिएको छ । एभोकाडो फलको विरुवामा भने १ सय २७ बाट १ सय ४० गरी १३ रुपैयाँ बढाउने निर्णय गरिएको छ । समितिको बैठकले घाँसको विउ र जीवित पशुको तौलअनुसारको नयाँ मूल्य समेत निर्धारण गरेको छ ।
जिल्ला दररेट निर्धारण समितिका सदस्य रहेका जिविस दोलखाका इन्जिनियर नारायण शिवाकोटीले प्रचलित मूल्य र मुद्रास्फ्रितिका आधारमा दररेट निर्धाराण गरिएको बताए । यो दर लागू भइसकेको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।