नेवि संघ महाधिवेशनमा झडप, राकेश सहितका नेता घाइते

 आवाज संवाददाता     ३० श्रावण २०७३, आईतवार

नौ वर्षपछि भएको महाधिवेशनको चुनावमा प्रतिनिधीहरु उत्सुकतापूर्वक सहभागि हुन पार्टी कार्यालयमा आएका बेला अचानक पार्टी कार्यालयमा भएको ढुङगामुढा पछि प्रहरीसँग भएको मुठभेडमा घाइते भएका विद्यार्थी नेता राकेश श्रेष्ठ सहितका दुई दर्जन बढी विद्यार्थी नेता कार्यकर्ता घाइते भएका छन् । गम्भिर घाइते दोलखाका राकेश अस्पताल भर्ना गरिएको छ ।
नेवि संघ दोलखाका अध्यक्ष भीमबहादुर खड्काका अनुसार श्रेष्ठलाई अन्नपूर्ण न्यूरो अस्पतालमा सिटी स्क्यान गरी अहिले स्टार अस्पतालमा उपचार भई रहेको छ ।
स्टारमा सिटी स्कान सुविधा नभएपछि अन्नपूर्ण लगिएको हो । श्रेष्ठले बान्ता गरेपछि सिटी स्क्यान गर्नु परेको हो । प्रतिनिधी कार्ड र झोला वितरणको प्रक्रिया चलिरहेको अवस्थामा महाधिवेशन वहिष्कार गर्ने घोषणा गरेको बरिष्ठ नेता रामचन्द्र पौडेल निकट समुहले पार्टी कार्यालय परिसरमा ढुङगा हानेपछि झडप सुरु भएको हो । पछि पार्टी कार्यालयमा सुरक्षामा तैनाथ प्रहरी ढुङ्गा प्रहार गर्नेलाई सामान्य लाठी चार्ज गरि हटाउने प्रयास गरेको थियो।

रामचन्द्र पौडेल र प्रकाशमानसिंह निकट विद्यार्थीहरुले निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन्। पार्टी नेता पौडेल र सिंह पक्षधर पद्मराज पन्त, मनोजमणि आचार्य, निलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, क्षितिज भण्डारी र दिपक भट्टराईको नेतृत्वमा अहिले पनि पार्टी कार्यालय परिसर बाहिर नारावाजी भइरहेको छ।

आफूहरुलाई पार्टी कार्यालयमा प्रवेश नदिइएको तथा सानेपाको सडकमा समेत नारावाजी भइरहेको अध्यक्षका प्रत्यासी विनिता अधिकारीले बताइन। गृहमन्त्री काँग्रेस नेता विमलेन्द्र निधीको ठाडो आदेशमा आफूहरुमाथि आक्रमण गरिएको अधिकारीले बताइन। प्रहररीको लाठी प्रहारबाट राकेश श्रेष्ठ, बिक्रम कार्की, उर्मिला कँडेल, सौगात थापा, रचना सुवेदी, रमेश रिजाल, अनुज चापागाई, जनक कुमार शाही, संगिता थापा, एनपी आचार्य घाइते भएको नेवि संघ दोलखाका अध्यक्ष खड्काको भनाई छ।

यता विधिवत महाधिवेशनको माग गर्दै आएको कुन्दन काफ्ले समुहले अविलम्व निर्वाचनको प्रक्रिया सुचारु गर्न माग गरेको छ। आम प्रतिनिधीहरुमा रहे्को अन्यौललाई चिर्दै निर्वाचन हुने आश्वस्त पार्न निर्देशन समिति समक्ष काफ्ले पक्षले माग गरेको छ। पछिल्लो अवस्थाका बारेमा काफ्ले समुहले साँझ ५ वजे वागवजारको हार्दिक होटलमा पत्रकार सम्मेलन गरेको विद्यार्थी नेता युवराज पाण्डेले बताए।

पार्टी कार्यालयमा तनाव भएपछि उम्मेदवारको मनोनयन दर्ता २०७३ श्रावण ३० गते दिनको ३ बजेदेखि ६ बजेसम्म निर्धारित गरिएकोमा प्राविधिक कारणवस कार्यतालिका २०७३ साउन ३१ गते विहान ८ बजेदेखि ११ बजेसम्म गरिने पार्टी कार्यालयले विज्ञप्ती निकालेर जनाएको छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।