विदेशमा भएका अभिभावकसँग विद्यालयबाटै ‘भिडियो कल’ गर्ने अवसर

 आवाज संवाददाता     ३१ श्रावण २०७३, सोमबार

दोलखा, ३१ साउन/दोलखा सदरमुकाम चरिकोटस्थित पशुपति कन्या मन्दिर माविमा अध्ययन गर्ने बालिबालिकाका आमाबाबु विदेशमा छन् भने पनि अव न्यास्रो मान्नुपर्ने छैन किनकि विद्यालयले उनीहरुबीच ‘भिडियो कल’ गर्ने अवसर जुटाइदिएको छ ।

_MG_5654

विद्यालयका बालबालिका र उनीहरुका अभिभावकबीच ‘भिडियो कल’ गर्ने अवसरका लागि सहयोग भने नेपाल टेलिकम दोलखाले गरेको हो । आज नेपाल टेलिकमले विद्यालयलाई त्यसका लागि आवश्यक पर्ने उपकरणहरु उपलव्ध गराएको छ । नेपाल टेलिकमले उपलव्ध गराएका उपकरणहरु प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

_MG_5676

इन्टरनेट प्रविधि जडानका लागि विद्यालयलाई नेपाल टेलिकमले ५ सेट डेस्कटप कम्प्युटर, एउटा प्रिन्टर, वेभ क्यामेरा उपलव्ध गराएको छ भने इन्टरनेट सञ्चालनका लागि भोल्युम वेसमा मासिक ३० जीवी डेटा दुई वर्षसम्म उपलव्ध गराउने जानकारी नेपाल टेलिकम दोलखा शाखाका प्रमुख श्याममणि अर्यालले दिएका छन् ।
आज सम्पूर्ण उपकरण जडान भएपछि भोलिदेखि नै विद्यार्थीहरुले विदेशमा रहेका आफ्ना अभिभावकहरुसँग कुरा गर्न सक्नेछन् । यसका साथै विद्यार्थीहरुका अभिभावकहरुले पनि विदेशमा रहेका आफन्तहरुसँग कुरा गर्न पाउने अवसर जुटाइदिने विद्यालयका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले जानकारी दिए । उनले सो अवसरमा नेपाल टेलिकमले उपलव्ध गराएको सूचना प्रविधिको अधिकतम उपयोग गरिने प्रतिवद्धता पनि व्यक्त गरे ।

 

_MG_5666
नेपाल टेलिकमको मुख्य उद्देश्य इन्टरनेटको विकास गर्नु पनि भएकोले विद्यालयले प्राप्त गरेको सूचना प्रविधिको विद्यार्थीहरुलाई सिकाउनका लागि पनि प्रयोग गरिने विद्यालयले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।