सुनकोशी बस दुर्घटनाः १७ मध्ये ७ मृतकको सनाखत

 आवाज संवाददाता     १७ कार्तिक २०७६, आईतवार

कात्तिक १७ । दोलखाबाट काठमाडौं जाँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु १७ मध्ये ७ जनाको सनाखत भएको छ ।

दुर्घटनामा १७ जनाको शब फेला परेको मध्ये त्रिपुरासुन्दरी गाउँपालिका–४, सिन्धुपाल्चोक जलजलेकी २७ बर्षिय चमेली श्रेष्ठ र उनकी ६ बर्षिय छोरी साइरानी श्रेष्ठ, भीमेश्वर नगरपालिका दोलखाकी २४ बर्षिय रन्जिता केसी, शैलुङ गाउपालिका–३ कि ५१ बर्षिय रत्नकुमारी रावत र दोलखा घर भएका तिन महिनाको शिशु शिसान तामाङको सनाखत भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।

घाइते ५२ बर्षिय चेतकुमारी बस्नेत र ६ बर्षिय सलिना तामाङको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ । मृतक सलिना तामाङ शैलुङ गाउँपालिकाकी हुन् भने बस्नेतको ठेगाना खुल्न नसकेको काभ्रे प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त बसबाट उद्धार गरिएका ४६ जनालाई काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि पु¥याइएको छ । बसका चालक धनबहादुर तामाङको सिन्धुपाल्चोकको खाडीचौरमा रहेको सदाबहार अस्पतालमा उपचार हुन नसके पछि धुलिखेल अस्पताल रिफर गरिएको अस्पतालले जनाएको छ । बोल्न नसक्ने अवस्थामा रहेकोले चालक तामाङलाई थप उपचारका लागि धुलिखेल रिफर गरिएको हो । घाइतेमध्ये अन्य छ जना गम्भीर अबस्थामा रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको मागापौवाबाट शैलुंगेश्वर यातायातको बा२ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी नगरपालिका–९, सुकुटेस्थित अरनिको राजमार्गबाट सुनकोशी नदिमा खसेर दुर्घटना भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।