काटाकुटीको सबै टोलमा सन्नाटा, गाडीको आवाजले पनि तर्सिन थाले आफन्त

 आवाज संवाददाता     १८ कार्तिक २०७६, सोमबार

कात्तिक १८, काटाकुटी, दोलखा । सोमबार दिउँसो २ बजे शैलुङ गाउँपालिका–५, काटाकुटीको विभिन्न टोलमा पुग्दा कोही कसैसँग बोलीरहेका थिएनन् ।
बस दुर्घटनामा काटाकुटीको हरेक टोलबाट कोही न कोहीको मृत्यु भएको थियो । काटाकुटीमा रहेको टिकट काउण्टरबाट आइतबार आफैँले टिकट काटेर पठाएको बा२ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ को सुकुटेस्थित सुनकोशीमा खस्दा आफन्त गुमाएकाहरुको आँखामा दुईदिन वितिसक्दा पनि उत्तिकै आँशुका धारा देखिँदा सान्त्वना दिन आएका छिमेकीहरुमा समेत सन्नाटा छाएको देखिन्थ्यो । टाढाटाढादेखिबाट आएको पंक्षिहरुको आवाज बरु सहजै सुन्न सकिन्थ्यो तर आँगनमा भएका मानिसहरुको सुँक्क सुँक्क आवाज मात्र सुनिन्थ्यो । करिब दुईसय घर रहेको काटाकुटीको हरेक टोलमा कोही न कोहीको मृत्यु भएको छ ।
छिमेकीहरु कसको चाँही घरमा गएर के भन्ने बारे अन्योल र द्विविधामा रहेका देखिन्छन् । मृतकहरुको घरमा पुगेका छिमेकी पनि एकअर्काको अनुहार हेर्ने र आँशु झार्ने बाहेक कसैको गलाबाट केही शब्दावली निस्किएको थिएन । नयाँ मान्छेसँगै पछि लागेर आईहाल्छन् कि भन्ने आशाले एकोहोरो हेरिरहन्छन् ।
स्थानीय बुद्धिजीवीसँग सहजीकरण गरेर शैलुङ गाउँपालिका–५, काटाकुटीको राउतटोलमा २० बर्षीय मृतक कविता राउतको घरमा पनि सन्नाटा देखिन्थ्यो । बल्ल बोल्न मानेकी कविताको फुपु सरस्वती राउतले भनिन्, ‘स्नातक भर्ना हुन ढिला भयो भनि नहिँडेकी भए यस्तो हुँदैनथ्यो ।’
काटाकुटीका ६९ बर्षीय बृखबहादुर खत्रीले भने, गाडी छुट्नुभन्दा अघिदेखि नै पेसेन्जर पेसेन्जर विचमै झगडा समेत परेको थियो ।’ दुईदिनदेखि छिमेकीहरुको घरमा समेत चुल्हो बलेको छैन । पशुचौपायाहरुलाई दानागाँस दिने जाँगर मरेर गएको उनीहरु बताउँछन् ।
मृत्यु भएका १८ जनामध्ये दोलखा जिल्लाको मात्र १५ जना परेका छन् । त्यस मध्ये पनि काटाकुटी, मागापौवा र बाघखोरबाट चढेकाहरुको बढि मृत्यु भएको छ । गाउँपालिका भित्रकै १४ जनाको मृत्यु भए पछि शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालद्वारा एक शोक विज्ञप्ती प्रकाशित गरी शोक प्रकट गर्न सोमबार सार्वजनिक विदा दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।