सिंगटीस्थित तामाकोसी नदीमा अस्पतालजन्य फोहोरको विगविगी, प्रशासन मौन

 आवाज संवाददाता     २२ कार्तिक २०७६, शुक्रबार

कात्तिक २२, सिंगटी । उत्तरी दोलखाको सिंगटीस्थित तामाकोसी नदीमा यत्रतत्र अस्पतालजन्य फोहोर फालिएको भेटिएको छ ।
स्थानीय जातको माछा खाने पारखीहरुका लागि यो बजार महत्वपूर्ण मानिन्छ ।

तर सिंगटी बजार भएर बग्ने नदीकिनारमा अस्पताल र फार्मेसीबाट निस्किएकाअस्पतालजन्यफोहोरले नदीप्रदुषित बनेको हो । सिंगटी खोला तामाकोसीमा मिसिने दोभानको बगरमा अस्पतालबाट निस्कने सुइ, ग्लोब्स, प्याड, स्लाइन पानीका बोतलहरु जस्ता अस्पतालजन्य फोहोर देखिएको छ । यि फोहोरहरु सिंगटी बजारमा सञ्चालित निजीस्तरका अस्पताल र फार्मेसीबाटै निस्किएको हुन सक्ने स्थानीयहरुको अनुमान छ ।
सिंगटी बजार भएर बग्ने तामाकोसी नदी र सिंगटी खोलामा दैनिक माझीले माछा मार्छन् । तिनै माछा सिंगटीका होटलमा पुग्छन् त कति कोसेलीका रुपमा राजधानी काठमाडौंसम्म । तर बगरमा देखिएका यस्ता फोहोरले स्थानीयहरु समेत झस्किएका छन् ।
सिंगटीको विगू गाउँपालिका–४, सिंगटीमा सिद्धार्थ फार्मेसी र खोलीखिममा अर्को एक गरी २ वटा फार्मेसी छ । त्यस्तै कालिञ्चोक गाउँपालिका–३, सिंगटीमा रोल्वालिङ सामुदायिक अस्पताल, जीवन फार्मेसी छ । त्यसैगरी बजारभन्दा डेढ किलोमिटर माथि सरकारी प्राथमिक स्वास्थ्य केन्द्र पनि छ ।
बजार छेऊको तामाकोसी बगरमा जथाभावी प्रयोग गरेर फालिएका सुइ, स्लाइन पानीको बोतल जस्ता सामाग्री देखिएको दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । व्यवसाय गर्न जसले पनि पाउँछ, तर वातावरण नै प्रदुषित गरेर व्यवसाय गर्नु अपराध भएको उनले बताए । स्थानीयहरुले स्थलगत निरीक्षण गरेर प्रशासनको ध्यानाकार्षण गराएका छन् ।

दोलखाका प्रमुख जिल्ला अधिकारी नदीमा सोझै अस्पतालजन्य फोहोर फालिएको खबर आफूले जानकारी पाउँने वित्तिकै इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयलाई स्थलगत निरीक्षण गरी जानकारी दिन निर्देशन दिएको उनले बताए । यसरी नदी नै प्रदुषित हुने गरी फोहोर फाल्ने जो कोही भए पनि कानुनी कारबाही हुने उनले बताए ।

वातावरण विद्धहरुकाअनुसार अस्पतालजन्य फोहोर अरु सामान्य फोहोरभन्दा सयौं गुणा खतरनाक भएको बताउँछन् । यस्ता फोहोर सोझै नदीमा फाल्दा जल प्रणाली र खाद्य चक्रमै असर पार्ने बताउँछन् । अस्पतालजन्य फोहोरले माछा जस्ता जलचरमा १० गुणा बढी र त्यही माछा मानिसले खाँदा १०० गुणासम्म असर गर्ने बताइन्छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले यो फोहोर संरक्षण क्षेत्र बाहिरबाट आएको हुन सक्ने बताए । संरक्षण क्षेत्र भित्रबाट आए कडा कारबाही हुने बताए । अस्पतालजन्य फोहोरबाट फोहोर फालेका ठाउँभन्दा धेरै तलसम्म असर गर्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।