सवारी दुर्घटनाबाटै २० दिनमा दोलखाका १८ जनाको मृत्यु, ६३ घाइते

 आवाज संवाददाता     ५ मंसिर २०७६, बिहीबार

मंसिर ५, चरिकोट । पछिल्लो २० दिनमा सवारी दुर्घटनाबाट मात्रै दोलखा जिल्लाका १८ जनाको मृत्यु भएको छ ।
सार्वजनिक र निजी सवारी साधन गरी तीनओटा दुर्घटनाबाट मात्रै पछिल्लो २० दिनमा दोलखा जिल्लाका १८ जनाको मृत्यु भएको हो । क्षमताभन्दा दोब्बर यात्रु कोच्ने, अस्तव्यस्त सडक र लापरवाह चालकको कारण एकमहिना नबित्दै अनाहकमा दोलखाका १८ जनाले मृत्युबरण गर्न बाध्य भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार आमविनासकारी भुकम्प पछि दोलखा जिल्लामा यो नै ठूलो मृत्युको घटना हो ।
गत कात्तिक १७, मंसिर २ र मंसिर ४ गते भएको सार्वजनिक र निजी सवारी दुर्घटनामा १४ महिला र ४ पुरुष गरी १८ जनाले ज्यान गुमाएका थिए । तीनओटा दुर्घटनाबाट ६३ जना घाइते भएका थिए । शैलुङ्गेश्वरी यातायातको बस गत कात्तिक १७ गते दुर्घटना हुँदा दोलखा जिल्लाका मात्र १५ जना, मंसिर २ गते निजी बोलेरो दुर्घटना दुईजना र मंसिर ४ गते गौरीशंकर यातायातको बस दु्र्घटना हुँदा एकजना गरी कूल १८ जनाको मृत्यु भईसकेको छ ।
गत कात्तिक १७ गते आइतबार दोलखाको मागादेउरालीबाट काठमाडौंतर्फ गइरहेको बा२ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ को सुकुटेनजिकैबाट सुनकोशी नदीमा खस्दा दोलखा जिल्लाको मात्र १५ जनाको मृत्यु भएको हो । त्यस मध्ये पनि शैलुङ गाउँपालिकाको मात्र १४ जनाको मृत्यु भएको थियो ।
एकमहिना नबित्दै १८ जनाको मृत्युले दोलखा जिल्ला शोकै शोकमा डुबेको छ । २ महिनाको बालबालिकादेखि ७० बर्षसम्मका ज्येष्ठ नागरिकको ज्यान गएको छ । मृतकको परिवारको आँशु ओभाउन अझै कति समय लाग्ने हो भन्ने कल्पना गर्न सकिने अवस्था छैन । सो दुर्घटनामा ५१ जना घाइते भएका थिए । कतिपय घाइते उपचार पछि घर पुगे भने कतिपय घाइते अझै अस्पतालमै उपचाररत छन् ।
मंसिर २ गते सोमबार शैलुङ गाउँपालिका–८ झोरमनगाउँबाट रामेछापको दोरम्बाको दहपताल जाँदै गरेको निजी सवारी साधन बालेरो दोरम्बाको डढुवामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा झोरमनगाउँका करिब ११ बर्षिय दिलकुमारी श्रेष्ठ र करिब ७ बर्षिय सुवानी श्रेष्ठको मृत्यु भएको थियो । घटनामा चालक सहित ११ जना घाईतेहरूको काठमाण्डौँमा उपचार भईरहेको छ ।
मंसिर ४ गते बुधबार डिजेल सकिएर रोकिराखेको बस पछाडी गुडेर दुर्घटना हुँदा एक ७० बर्षिय बृद्व महिलाको मृत्यु भएको छ । दुर्घटनामा २ महिने बालक छिरिङडोड्प लामा घाइते भएको प्रहरीले जनाएको छ । बैत्यश्वर गाउँपालिकाको गैरीमुदीबाट काठमाडौं जाँदै गरेको बा३ख २९९७ नम्बरको बस डिजेल सकिएर रोकिराखेको बेला पछाडी गुडेर दुर्घटना हुँदा बैत्यश्वर गाउँपालिका–३ कि ७० बर्षिय कुमारी तामाङको च्यापिएर मृत्यु भएको हो । डिजेल सकिएर भीमेश्वर नगरपालिका–८, बोचको चर्नावती खोला नजिकको उकालोमा रोकिराखेको बस ओत नाघेर पछाडी गुड्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।
बसमा करिब १० जनाले यात्रा गरेको भए पनि रोकेको बेला भएर आफूहरु बस बाहिर टहलिएर बसेको बेला गाडी आफै पछाडी गुडेको यात्रु रेखा शिवाकोटीले बताईन् । २ जनाले ढोकाबाट हामफाले भने ढोकामा आइपुग्ने वित्तिकै गाडी पल्टिएर तामाङलाई थिचेको प्रत्यक्षदर्शी यात्रु शिवाकोटीले बताइन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।