हरेक हप्ता दोलखामा एक आत्महत्या, मानसिक रोगी बढ्दै

 आवाज संवाददाता     १५ मंसिर २०७६, आईतवार

मंसिर १५, चरिकोट । दोलखा जिल्लामा हरेक हप्ता एक जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क भेटिएको छ । विभिन्न कारण मानसिक स्वास्थ्यमा समस्या बढ्दै गए पछि दोलखा जिल्लामा हरेक हप्ता एकजनाले आत्महत्या गर्ने गरेको डरलाग्दो तथ्याङ्क भेटिएको हो ।

अघिल्लो तीन आर्थिक बर्षको तथ्याङ्कअनुसार हरेक हप्ता एकजनाले आत्महत्या गर्ने गरेको पाइएको छ । अघिल्लो तीनबर्षको तथ्याङ्कअनुसार पुरुष ९८ र महिला ५२ गरी एकसय ५० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । स्वास्थ्य कार्यालयको महामारीबाट मृत्यु हुनेको पछिल्लो १० बर्षको तथ्याङ्कभन्दा ५ गुणा बढिले आत्महत्याबाट ज्यान गुमाएको पाइएको छ ।

दोलखा प्रहरीको पछिल्लो तीनबर्षको तथ्याङ्कअनुसार आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा दोलखा प्रहरीको तथ्याङ्कअनुसार २५ पुरुष र १५ महिला गरी ४० जनाले आत्महत्या गरेको पाइएको छ । त्यो संख्या ६० प्रतिशतले बढेर आर्थिक बर्ष २०७४÷०७५ मा पुरुष ४६ र महिला २० गरी ६६ जनाले आत्महत्या गरे । अघिल्लो आर्थिक बर्षमा सो संख्या केही घटेको जस्तो देखिए पनि पुरुष २७ र महिला १७ गरेर ४४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

चालु आर्थिक बर्षको ४ महिनामा मात्र पुरुष ५ र महिला ४ जनाले आत्महत्याको घटना भएको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए । घरेलु हिंसा, बेरोजगार, प्रविधि, सम्पत्ति र सम्वन्धको कारणले दोलखामा आत्महत्याको संख्या बृद्धि भएसँगै मानसिक रोगीको संख्या पनि बढ्दै गएको स्वास्थ्य संस्थाहरुको तथ्याङ्क छ ।

२०६८ को जनगणनाअनुसार दोलखाको एकलाख ८६ हजार पाँचसय पचहत्तर मध्ये शून्यदशमलब शून्य दुई प्रतिशत मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ । पछिल्लो तीनबर्ष र चालु आर्थिक बर्षको चारमहिना सहित ४० महिनामा पुरुष एकसय तीन र महिला ५६ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । आत्महत्या गर्नेहरुको सूचीमा अधिकाँश बयष्क उमेरका पुरुष तथा महिलाहरु रहेको पाइएको छ ।

मानसिक रोगको उपचार गरिरहेका स्वास्थ्यकर्मीहरुको अनुसार सम्पत्ति र सम्वन्धको कारण आत्महत्याको घटनामा बृद्धि भएको हो । सदरमुकामस्थित चरिकोट अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेका अनुसार प्रत्येक महिना मानसिक रोगका विरामीहरु बढ्दै गएको पाइएको छ । हाल चरिकोट अस्पतालमा मात्र मासिक करिब एकसय १० जना मानसिक रोगका विरामी उपचारको लागि आउने गरेको सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।