मेलुङ गाउँपालिकाले सुन्तला महोत्सवको आयोजना गर्दै

 आवाज संवाददाता     २५ मंसिर २०७६, बुधबार

चरिकोट । दक्षिणी दोलखाको मेलुङ गाउँपालिकाले सुन्तला महोत्सवको आयोजना गर्ने भएको छ । सुन्तला खेती प्रवर्धन गर्ने उद्देश्यका साथ गाउँपालिकाले महोत्सवको आयोजना गर्ने भएको हो ।

सुन्तला खेती प्रवर्धन तथा गाउँपालिकालाई सुन्तला पकेट क्षेत्र घोषणाका लागि मेलुङ गाउँपालिका–१, पवटीको रमाइलोचोकमा मंसिर २८ र २९ मा महोत्सवको आयोजना गर्न लागिएको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।

गाउँपालिकाको वडा नम्बर १ पवटी, वडा नम्बर २ को ढलेको वर, डाँडागाउँ, च्याने, वडा नम्बर ४ का लामाटार, आँगेटार, मानेडाडाँ, बुद्धचोक, वडा नम्बर ६ को तीनपिप्ले लगायतका स्थानमा सुन्तला उत्पादन हुने गरेको छ । मेलुङ गाउँपालिकामा मात्र करिब ५० टन सुन्तला उत्पादन हुने गरेको मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताए ।

थोकरका अनुसार महोत्सवको पहिलो दिन सुन्तला, तथा सुन्तला जातका फलफुलहरुको स्टल राखिने, पालिकामा उत्पादित औद्योगिक सामग्रीको प्रदर्शनी गरिने, विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन, सांगितिक प्रस्तुति लगायतका कार्यक्रमहरु रहेका छन् ।
महोत्सवको दोस्रो तथा अन्तिम दिन सुन्तला विज्ञहरुको कार्यपत्र प्रस्तुति, सांगितिक प्रस्तुति र मेलुङ संकल्प नामक वृत्तचित्र प्रदर्शन गरिने थोकरको भनाई छ । सुन्तला महोत्सवबाट गाउँपालिकाभित्र उत्पादन हुने सुन्तलाको बजारीकरणमा मद्दत पुग्ने गाउँपालिकाको आशा छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।