सिन्धुपाल्चोक दुर्घटना : १४ जनाको मृत्यु, १८ घाइते

 आवाज संवाददाता     २९ मंसिर २०७६, आईतवार

मंसिर २९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको खाडीचौर–जिरी सडकखण्डको ६ किलोमिटरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ हिँडेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सुनकोशी गाउँपालिका–७, स्वाँरामा दुर्घटना भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । उनले दुर्घटनामा परेर १८ यात्रु घाइते भएको बताए ।

भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै थिए । दुर्घटनाका घाइतेमध्ये १२ जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौर र गम्भीर घाइते भएका ६ जनालाई हेम्स अस्पताल काठमाडौंमा रिफर गरिएको डीएसपी काफ्लेले बताए । मृतकमध्ये भीमेश्वर नगरपालिकाकी जुनु तामाङको पहिचान भएको प्रहरीले जनाएको छ ।

घाइते २० जनामध्ये २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा ८ महिला, ३ पुरुष, २ बालिका र १ बालक रहेका छन् । घुम्तिमा दुर्घटना भएको बस माथिल्लो सडकबाट खसेर तल्लो सडकमा पुगेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।