फेरि भेटियो दोलखाको च्छोरोल्पामा दुर्लभ हिमचितुवा

 आवाज संवाददाता     २० पुष २०७६, आईतवार

रवीन्द्र गौतम । दोलखा

पुस २०, चरिकोट । विश्वमै दुर्लभ मानिएको हिमचितुवा दोलखाको रोल्वालिङ उपत्यकाको च्छोरोल्पा हिमताल आसपासमा फेरि भेटिएको छ ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जीक्याप)ले गौरीशंकर गाउँपालिका–९, रोल्वालिङ उपत्यकाको च्छोरोल्पा हिमताल आसपासमा गरेको क्यामेरा ट्रयापिङबाट संरक्षण क्षेत्र भित्र दोस्रोपटक हिमचितुवा भेटिएको हो ।

आइतबार जीक्यापले पत्रकार सम्मेलनको आयोजना गरी रोल्वालिङ उपत्यकाको च्छोरोल्पा आसपासमा जडान गरिएको क्यामेरामार्फत बयस्क हिमचितुवा भेटिएको जनाएको छ ।

रोल्वालिङ उपत्यकामा १२ ओटा इन्फ्रारेड प्रविधिको सेन्सरयुक्त क्यामेरा जडान गरी ७ महिना अघि थालिएको अनुसन्धानमा दोस्रोपटक हिमचितुवा भेटिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले बताए । २०७६ जेठदेखि २०७६ मंसिरसम्म गरिएको अध्ययनले सामुन्द्रिक सतहबाट ४५३६ मिटर माथि हिमचितुवाका तीनपटक तस्विर खिचिएको प्रमुख शाहको भनाई छ । असार १५, भदौ २२ र २६ गते गरी एउटै हिमचितुवाको ३ पटक भेटिएको प्रमुख शाहले जानकारी दिए ।

नेपालमा संरक्षित गरिएको २७ ओटा वन्यजन्तु तथा पंक्षिमध्ये रोल्वालिङ उपत्यका क्षेत्रमा हिमचितुवा सहित ७ ओटा संरक्षित जन्तु र पंक्षि भेटिएको शाहले जानकारी दिए । क्यामेरा ट्रयापिङमार्फत ५ ओटा र मानवीय स्रोतबाट २ गरी ७ संरक्षित वन्यजन्तु भेटिएको हो । रोल्वालिङ उपत्यकामा पहिलोपटक ब्वाँसो रर रेडपाण्डा भेटिएको छ ।

पहिलोपटक जीक्यापको आफ्नै विज्ञहरुको प्रयोग गरेर सो अनुसन्धान गरेको छ ।
यसअघि करिब ७ महिनाअघि तिब्बतसँग सिमाना जोडिएको लप्ची उपत्यकामा क्यामेरा ट्रयापिङमार्फत भाले जातको हिमचितुवा भेटिएको संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

१२ ओटा क्यामेरा जडान गरिएकोमा ६ ओटा क्यामेराले मात्र काम गरेको थियो । प्रत्येक क्यामेराले सरदर १४८ दिन काम गरेको थियो । रोल्वालिङ उपत्यकामा हिमचितुवा बाहेक ब्वाँसो, कस्तुरीमृग, रेडपाण्डा, डाँफे, मुनाल र आसामी रातो बाँदर जस्ता संरक्षित बन्यजन्तु र पंक्षि भेटिएको आयोजनाले जनाएको छ ।

विश्वप्यापी उष्णताको प्रभाव सो क्षेत्रमा न्यून देखिएकोले वन्यजन्तुका लागि उपयुक्त क्षेत्रको रुपमा रोल्वालिङ उपत्यका रहेकोले पनि हिमचितुवा भेटिएको संरक्षण अधिकृत पाण्डेले बताए । अन्तरराष्ट्रिय संरक्षण संघ (आइयुसीएन)ले दुर्लभ प्रजातिको रुपमा सूचीकृत गरेको हिमचितुवाको संख्या विश्वमा ६ हजारभन्दा कम भएको अनुमान गरेको थियो । नेपालमा यसको संख्या तीनसयदेखि पाँचसयसम्म रहेको अनुमान छ । गौरीशंकर संरक्षण क्षेत्र भित्र यसको संख्या ३ देखि ५ सम्म हुन सक्ने अध्ययनमा संलग्नहरुको भनाई छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।