‘अहिले पनि म जस्ता युवाले नेतृत्व गर्ने अवसर नपाउने हो भने ऊर्जाशील समय खेर जान्छ’

 आवाज संवाददाता     २ भाद्र २०७३, बिहीबार

२०५७ सालदेखि नेपाल विद्यार्थी संघबाट काँग्रेस राजनीति सुरु गरेका दावा शेर्पा ताराबहादुर कोइराला नेपाली काँग्रेस दोलखाको सभापति हुँदा पार्टीको आमन्त्रित जिल्ला कार्यसमिति सदस्य बन्नु भयो । पदमा नभए तापनि तरुण दल, नेवि संघ र पार्टीको हरेक कार्यक्रममा सक्रियतापूर्वक काम गरिरहेका छन् । १३ वर्ष पछि हुन लागेको तरुण दल देलखाको अधिवेशनमा शेर्पाले पनि आफूलाई अध्यक्षको उम्मेद्वारको रुपमा घोषणा गरेका छन् । प्रस्तुत छ तरुण दलअध्यक्षका उम्मेद्वार दावा शेर्पासँग आवाज अनलाइनले गरेको कुराकानी…

अरु बेला चुपचाप हुने काँग्रेस र तिनका भातृ संगठन अधिवेशनको बेलामा मात्र चहलपहल हुन्छ तरुण दलमा पनि त्यस्तै होइन ?
यो भन्दा अघिको तरुण दलको गतिविधि जे भए तापनि अब आउने नेतृत्वले सम्पूर्ण तरुणहरुको भावनालाई आत्मासाथ गर्दै जिल्लामा हुने सबै किसिमका गतिविधिमा दोलखा तरुण दलको सक्रिय भूमिका र दर्बिलो उपस्थितिको वातावरण तयार गर्छु । लामो समयसम्म एकै व्यक्ति नेतृत्वमा भएको र अधिवेशन नभएका कारण तरुण दलको सुस्तता जस्तो देखिएको हो तर तपाईले भने जस्तो होइन केही त भएकै छन् नि ।

यस भन्दा अघि निष्कृय तरुण दल अधिवेशनका लागि मात्रै किन यस्तो सक्रियता हो ?
यसभन्दा अघि पनि तरुण दल निष्कृय थिएन । जिल्लादेखि गाउँगाउँसम्म खेलकुद, सामाजिक क्रियाकलाप र पार्टीले गर्ने हरेक क्रियाकलापमा सक्रिय भूमिका खेल्दै आएको छ । पार्टी कार्यकर्तालाई पर्ने जुनसुकै समस्या पर्दा पनि तरुण दल दोलखाले समाधान गर्दै आएको अवगतै छ ।

तपाई अहिलेसम्म तरुण दलको कुनै पनि भुमिकामा काम गर्नु भएको छैन, तर एकै पटक किन अध्यक्ष ताक्नु भएको हो ?
म तरुण दलको कुनै पनि आधिकारिक पदमा बसेर काम नगरे तापनि तरुण दलले गर्ने हरेक क्रियाकलापमा अरु पदाधिकारीले निर्वाह गरेको भूमिकाभन्दा मैले कुनै कमी गरे जस्तो लाग्दैन । तरुण दलमा बसेर काम गर्नु भनेको समाजको सेवा गर्नु हो । तपाईलाई जानकारी नै छ हाम्रो तरुण दल २/३ वर्षमा नियमित अधिवेशन हुनु पर्ने हो तर १३ वर्षसम्म अधिवेशन हुन सकेन । अधिवेशन हुन नसक्नुको परिणाम हामी जस्ता धेरै ऊर्जाशिल तरुणहरु जिम्मेवारीको मौका पाएनन् । अहिले पनि म जस्ता युवाले नेतृत्व गर्ने अवसर नपाउने हो भने ऊर्जाशिल समय खेर जान्छ । फेरि हाम्रो तरुण दलको विधानले तल्लो तहमा यो वा त्यो जिम्मेवारी निर्वाह गरेपछि मात्र अध्यक्ष हुनु पर्छ भन्ने छैन । केबल नेतृत्व गर्न सक्ने र युवा परिचालन, संगठन विस्तार र पार्टीले प्रतिस्पर्धा गर्ने स्थानीय, प्रान्तिय र संसदीय निर्वाचनमा मत आफ्नो पक्षमा पार्न भूमिका खेल्न सक्ने नेतृत्व चाहिन्छ त्यो खुबी ममा छ त्यसैले मैले आफूलाई अध्यक्षको रुपमा अघि सारेको हुँ ।

अध्यक्षका लागि तपाईसँगै अरु साथीहरुले पनि उम्मेद्वारको रुपमा घोषणा गर्नु भएको छ तर तपाईलाई नै किन तरुणहरुले नेता छान्नु पर्ने कारण के छ ?

अधिवेशनको मैदानमा त धेरैको नेतृत्वमा पुग्ने आँकाक्षा हुनु स्वभाविकै हो । तर नेतृत्व पाइसकेपछि उनीहरु जिल्ला बसेर काम गर्न तयार छन् कि छैनन् । हाम्रो परिपाटी नेतृत्व लिने अनि राजधानी फर्कने । यसरी संगठन चल्दैन । उहाँहरु अधिवेशन सकिएको भोलिपल्टै नेताहरुसँगै राजधानी फर्कने, पाहुनाको रुपमा जिल्लामा आउने, पार्टी र संगठनका कुनै पनि गतिविधिमा सामेल नहुने तर अवसर कुनै पनि नछाड्ने र युवाहरुलाई समस्या पर्दा पनि पहल कदमी गर्नेसम्म हुँदैनन् । तर म त निरन्तर रुपमा जिल्लामा हुन्छु । गाउँ गाउँमा संगठन विस्तारमा लाग्छु । पार्टी कार्यकर्ता र तरुण विद्यार्थीको संरक्षण गर्छु । कार्यकर्ताहरुलाई पर्ने सबै किसिमका समस्या समाधानमा लाग्छु । त्यसैले म अरुभन्दा सक्षम र योग्य उम्मेद्वार हुँ ।

काँग्रेस र तिनका अन्य भातृ संगठनका गतिविधि सुस्त भएका अवस्थामा तपाईले भने जस्तो तरुण दललाई कसरी सशक्त बनाउनु हुन्छ ?

म तरुण दलको अध्यक्ष भएपछि वार्षिक क्यालेण्डर नै बनाएर काम गर्छु । गाउँदेखि वडा तहसम्मको तरुण इकाइ समिति गठन गर्छु । दोलखाका हरेक तरुण युवालाई तरुण दलप्रति आकर्षित गराउने कार्यक्रमहरु बनाउँछु र कार्यान्वयनमा ल्याउँछु । पार्टी नेताहरुलाई अघि लगाउँछु, उनीहरुको अनुभवलाई व्यवहारमा उतार्दै तरुण युवाहरुलाई सिर्जनशिल काममा लगाउने छु ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।