भीमेश्वर नगरपालिकाको समग्र विकासमा बोच प्रथम

६ महिनामा ८२ प्रतिशत योजना सम्पन्न

 आवाज संवाददाता     २६ पुष २०७६, शनिबार

रवीन्द्र गौतम । बोच

पुस २६, बोच । भीमेश्वर नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ को समग्र विकासका कार्यहरुमा वडा नं. ८ बोच प्रथम भएको छ ।
भीमेश्वर नगरपालिकाको ९ ओटा वडा कार्यालयहरुमध्ये वडा नं. ८ बोचले समग्र विकासका कार्यहरुमा हासिल गरेको उपलब्धिको मूल्याङ्कणको आधारमा प्रथम भएको हो । चालु आर्थिक बर्षको ६ महिना भित्र वडा नं. ८ बोचले कूल योजनाको ८२ प्रतिशत योजनाका कार्यहरु सम्पन्न गर्न सफल भएको आधारमा प्रथम भएको हो ।

भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले शुक्रबार वडा नं. ८ को कार्यालय बोचमा आयोजना गरिएको एक कार्यक्रममा अन्य वडाहरुको तुलनामा बोचले प्रथम हुने गरी काम गर्न सफल भएको घोषणा गरेकी थिइन् । शुक्रबार नै उपमेयर बस्नेतले विभिन्न योजनाहरुको अनुगमन समेत गरेकी थिइन् । नगरपालिकाभरका सबै वडाहरुको समग्र प्रगतिभन्दा बोचको प्रगति ३० प्रतिशतभन्दा बढि रहेको पाइएको उपमेयर बस्नेतको भनाई छ । अनुगमनअनुसार अन्य वडाहरुको करिब ५० प्रतिशतसम्म योजनाका कार्यहरु सम्पन्न भएको पाइएको उनले बताईन् ।

बोचमा २९ ओटा योजनाको लागि विनियोजन गरिएको एककरोड २४ लाख बजेटमध्ये ८२ प्रतिशत बजेट खर्च भईसकेको भीमेश्वर नगरपालिका वडा नम्बर ८ का वडासचिव मधुसुदन आचार्यले जानकारी दिए । वडाध्यक्ष तथा बोचस्थित सम्पूर्ण राजनीतिक दलहरुको सहयोगमा वडासचिवको कर्तव्य पालना गर्ने क्रममा सो नतिजा हासिल गर्न सफल भएको वडासचिव आचार्यले बताए । पुस मशान्तअघि नै बोचले एककरोड एकलाख ५० हजार बराबरको १७ ओटा योजनाका कामहरु सम्पन्न गरिसकेको वडासचिव आचार्यले जानकारी दिए । सम्पन्न गरिएका योजनाहरुको तेस्रोपक्ष अनुगमन पनि सम्पन्न भई सकेको उनले बताए ।

वडा कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा स्मार्ट विधिबाट शैक्षिक सुधारको लागि ३ टिभी वितरण देवी माविका ६० जना स्काउटमा आवद्ध विद्यार्थीहरुलाई स्काउट ड्रेस वितरण, ज्येष्ठ नागरिकहरुलाई लौरो र टर्च वितरण, किवी कटिङ तथा नर्सरी व्यवस्थापन तालिमको समापन र पर्यटन बर्ष २०२० लाई लक्षित गरी बोचका पर्यटकीय केन्द्र समेटेर निर्माण गरिएको वृत्तचित्र समेत सार्वजनिक गरिएको भीमेश्वर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नकुल केसीले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।