दोलखाको ९ स्थानीय तहका ९ पर्यटकीय गन्तव्य

 आवाज संवाददाता     ५ माघ २०७६, आईतवार

रवीन्द्र गौतम । चरिकोट

देशैभर भ्रमण वर्षको उत्सव मनाइरहँदा दोलखा जिल्लाको विभिन्न स्थानमा ‘भिजिट नेपाल २०२०’ लाई भव्य रुपमा स्वागत गरियो । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य अनुरुप अंग्रेजी नयाँ वर्ष अर्थात भ्रमण वर्षभर दोलखा जिल्लाका विभिन्न पर्यटकीयस्थलहरुमा गरी करिब ५० हजार पर्यटक भित्राउने योजना रहेको छ । हिमाली तथा उच्च पहाडी जिल्ला दोलखालाई धार्मिक तथा साँस्कृतिक जिल्लाको रुपमा हेरिन्छ । धेरै पर्यटकहरुको मनमा दोलखा जिल्ला भन्ने बित्तिकै भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती, गौरीशंकर हिमाल र जिरीको सम्झना आईहाल्छ ।

जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती, शैलुङ, हनुमन्तेश्वर, महाङकाल, गौरीशंकर हिमाल लगायतका धार्मिक एवं साँस्कृतिक सम्पदा बाहेक अन्य गन्तव्यहरुको लागि स्थानीय तहहरु नयाँ ढंगबाट लाग्नु पर्ने अपरिहार्यता सुरु भईसकेको छ । संघीयताको कार्यान्वयन पछि दोलखा जिल्लामा बनेको ९ स्थानीय तहका ९ पर्यटकीय गन्तव्यले पर्यटकहरुलाई नयाँ उमंग, उत्सुकता, साहसिक, आनन्दित बनाउने कार्य गर्दछ ।

राङराङथली (भीमेश्वर नगरपालिका)

थामी जातीको उद्गमस्थल भीमेश्वर नगरपालिका–१, सुस्पाक्षमावतीको राङराङथली भीमेश्वर नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्यको लागि प्रचार सुरु गरेको छ । राङराङथलीमा निर्माणाधिन राष्ट्रिय थामी संग्रहालयले पनि आगामी दिनमा जातीय गन्तव्यको रोजाईमा पर्न सफल हुने सम्भावना उज्यालो छ ।
सिमान्तकृतक थामी जातीको सुरुको पुस्ताका मानिने यापती तथा सोनारीले बसोवास गरेको स्थल राङराङथली भीमेश्वर नगरपालिकाको अर्को रोजाईको गन्तव्य हो । राङराङथलीमा निर्माणाधिन संग्रहालयमा थामी जातिका पहिलो पुस्ता यापती, सोनारीले अल्लो धुने गरेको मानिने मनमोहक तिलक पोखरी रहेको छ । थामी जातीसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु प्रदर्शनमा राखिएका छन् साथै थामी जातीका परम्परा र संस्कृति झल्काउने प्रतिमुर्तिहरु निर्माणाधिन रहेको छ ।
थामी जातिका पहिलोपुस्ताको बसोबास स्थल रहेको मानिने राङराङथलीबाटै थामी जाति देशका विभिन्न भागमा बसाई रहेको मानिएको छ । भीमेश्वर नगरपालिका–१ मा अहिले पनि करिब ८० प्रतिशत थामी जातीकै बसोवास छ । थामी संग्रहालयको निर्माण पछि थामी जातीको कला संस्कृति संस्कार आदिको अध्ययन गर्न चाहनेहरुका लागि यो उपयुक्त स्थल हुने जनप्रतिनिधिहरुको विश्वास छ । सदरमुकाम चरिकोटबाट उत्तरतर्फ करिब ७ किलोमिटरको यात्रा पछि राङराङथली संग्रहालय पुग्न सकिन्छ ।

स्टोनपार्क (जिरी नगरपालिका)

जिरी नगरपालिका–१, श्यामाको पुम्पामा स्टोनपार्क निर्माणले पर्यटकहरुको घुईँचो लाग्ने गरेको छ । जिरी नगरपालिकाले प्राकृतिक रुपमा रहेको स्टोनलाई व्यवस्थित गरेर पर्यटकीयस्थल निर्माण गरेको छ । स्टोनपार्कमा ३ वटा प्रतिक्षालय सहित घेराबार र गोरेटो बाटो समेत निर्माण भएको छ । स्विट्जरल्याण्डको जुरिचमा पनि पुराना ढुङ्गाहरुलाई मिलाएर स्टोन पार्क बनाएकाले त्यही मोडेलमा जिरी नगरपालिकाले पुम्पामा पनि स्टोनपार्क निर्माण गरेको हो । जिरेश्वर मन्दिर, लिंकन बजार पछि जिरी पुग्ने पर्यटकहरु स्टोनपार्क पनि पुग्ने गरेका छन् । बुद्धपार्क, ठूलोढुंगा शैलुङपार्क, कुथामे पार्क, तेन्जिङ हिलारी स्मृति पार्क, टोनी हेगन इकोलोजिकल पार्क, मानेडाँडा पार्क, गुराँसे पार्क, खावाडाँडा पिकनिक पार्क जिरी नगरपालिकाको अन्य पर्यटकीय गन्तव्य हुन् ।

जल्पादेवी (तामाकोशी गाउँपालिका)

दोलखाको तामाकोसी गाउँपालिका–५, शहरेको किर्नेमा रहेको जल्पादेवी मन्दिरमा पुजा गर्दा सबै मनोकांक्षा पुरा हुने विश्वास धेरैलाई रहेको छ । जल्पादेवी मन्दिरमा पुजा गर्दा मनोकांक्षा पुरा हुने र रोगब्याधीले नसताउने विश्वास सबैको छ । जल्पादेवी मन्दिरको स्थापना बिसं १७४० मा भएको मानिन्छ । किम्वदन्ति अनुसार उदयपुर गढीबाट भोटमा लडाई गर्न हिँडेका सैनिकले मन्दिर भएको ठाउँमा युवती नाचेको देखे, ती युवती देवी हुन् भन्ने चिनेपछि उनीहरुले लडाई जितेर फर्किए मन्दिर स्थापना गरिदिने भन्दै आर्शिवाद लिएर भोटतर्फ लागे र भोटसँग लडाई जितेर फर्किएपछि तिनै सेनाहरुले नै जाल्पादेवी मन्दिरको स्थापना गरिदिएका हुन । जल्पादेवी मन्दिरमा एकादशी र आँैसीमा भने पुजा गर्न नहुने जनविश्वास छ । जाल्पादेवी मन्दिरमा धन्यपूर्णे र चण्डीपुर्णेमा ठूलो मेला लाग्ने गरेको छ । पुरातात्विक महत्वको जाल्पादेवी मन्दिरमा धार्मिक पर्यटक बृद्धिको लागि तामाकोसी गाउँपालिकाले मन्दिरसम्म पुग्ने बाटोको व्यवस्थापन तथा मन्दिर र आसपास पुरातात्विक महत्वका साथ नयाँ ढङ्गले पुर्ननिर्माण सुरु गरिसकेको छ ।

गाईखुरा महादेव (मेलुङ गाउँपालिका)

मेलुङ गाउँपालिका वडा नं. २, घ्याङसुकाठोकरको प्रशिद्ध स्वउत्पन्न गाईखुरा महादेवको दर्शन गर्नाले घर परिवारको सुरक्षा हुने, चौपायाहरुलाई बाघले दुख नदिने, दुर्घटना नहुने विश्वास रहेको छ । तीन शक्ति भएको एक शिला पाँच अवतार रहेको धार्मिक मान्यताका साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध गाईखुरा महादेवको शिलामा गाईको पाईला थुन बाघको पञ्जा शिवलिङ्ग दुई पहेँला नाग स्पष्ट देख्न सकिन्छ । साथै नेपाल सरकारले पर्यटकीय गन्तव्यका लागि सुचीकृत नभए पनि धार्मिक पर्यटकहरुको घुइँचो नै लाग्ने गरेको छ । किम्वदन्तीअनुसार एक कैलो गाइले आफै दुध खसालिरहेको गोठालाले देखेर पत्ता लागेको शिलामा आज पनि दुई जिवित नाग घुमि रहेको देखिन्छ । यो मन्दिरमा बेद, रुद्री, चण्डी र सवालाख बत्ती बालेर दर्शन गरेमा जुनसुकै संकट परे पनि समाधान हुने, आपत विपत दुर्घटनाबाट वचाउने, अकालमा मर्नबाट जोगाउने, धन प्राप्ति हुने हुँदा स्थानीयले नै सुधार संरक्षण गर्दै आएकोमा हाल गाउँपालिकाले जिम्मा लिएर वरिपरि कम्पाउण्ड निर्माण गर्न तीस लाख बजेटको व्यवस्था गरी निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ । नयाँ तीर्थस्थलको रुपमा श्रद्धालु भक्तजनले रुचाएको मन्दिर सम्म नै यातायात सञ्चालन भएपछि टाढा टाढा देखि आएर रात बसेर पुजापाठ दर्शन गरी फर्कने गर्दछन् । पछिल्लो समय भारतीय तिर्थयात्रीहरुसमेत गाईखुरा महादेवको मन्दिरमा पुगी दर्शन गर्ने गरेको पाइएको छ ।

सुन्द्रावती (कालिञ्चोक गाउँपालिका)

कालिञ्चोक गाउपालिका–९, सुन्द्रावतीमा अवस्थित सुन्द्रावती भगवतीको कुण्डलाई स्थानीयले चमत्कारी कुण्ड भनी पुजा गर्दै आएका छन् । एकै पहरामा रहेका भगवती कुण्ड, खड्कुले कुण्ड, गणेश कुण्ड, दूध कुण्ड लगाएत सात कुण्डमध्ये भगवती कुण्डमा दर्शनार्थीले शुद्ध मनले चढाएको भेटी कुण्ड भित्र जाने अन्यथा पानीसँगै बाहिर निस्कने जनविश्वास रहेकोले स्थानीयले यो कुण्डलाई चमत्कारी कुण्डको रुपमा पुजा गर्दै आएका हुन् । करिब १८६० देखि भगवती कुण्डभन्दा ठिक तल रहेको खड्कुले कुण्डमा आराधना गरि भाडाकुँडा माग्दा भाँडाकुँडा निस्कने गरेको भन्ने मान्यता रहेको छ । समुन्द्री सतहबाट करिव दुईहजार तीनसय मिटरको उचाईमा रहेको सुन्द्रावती भगवती कुण्डमा करिब २० फिट अग्लो झर्नाबाट पानी खस्ने गर्छ । सुन्द्रावती भगवती कुण्डमा एकादशी, रामनवमी, फागुपूर्णिमा लगायतको अवसरमा ठूलो मेला लाग्ने गरेको छ । सुन्द्रावती भगवती कुण्ड पुग्न सदरमुकाम चरिकोटबाट कालिञ्चोक गाँउपालिका–९ को कटुवाचौरसम्मको १८ किलोमिटर कालोपत्रे तथा कटुवाचौरबाट ७ किलोमिटर कच्ची सडकमा यात्रा गरेपछि झण्डै एक किलोमीटर सिढी चढेपछि पुग्न सकिन्छ ।

टासीछिमे गच्छल गुम्बा (विगु गाउँपालिका)

वि.सं. १९९० साल ताका निर्माण भएको विगु गाउँपालिका–७, विगु स्थित टासीछिमे गच्छल गुम्बा (मंगल महापून्य फुलबारी गुम्वा) दक्षिण एसियाकै पहिलो आनी उत्पादन गर्ने गुम्वाको रुपले बौद्धमार्गी तथा हिन्दु धर्म मान्नेहरु विच चर्चित छ । केही समयअघिसम्म दुर्गम रहेको गुम्बामा अहिले यातायातका साधनहरुमार्फत पुग्न सकिने भएपछि पर्यटकहरु नयाँ गन्तव्य बन्दै गएको छ । करिब ७५–८० जना आनीहरु कहिल्यै नटुट्ने गुम्बामा भारतको सिक्किम, नैनिताल, सिमलादेखि आनीहरु अध्ययन गर्न आउने गर्दछन् । सदरमुकाम चरिकोटबाट सिंगटी हुँदै करिब ६० किलोमिटरको यात्रापछि विगु गुम्बा पुग्न सकिन्छ ।

च्छोरोल्पा (गौरीशंकर गाउँपालिका)

दक्षिण एसियाकै अग्लो स्थानमा रहेको च्छोरोल्पा हिमताल गौरीशंकर गाउँपालिका–९, गौरीशंकरमा पर्छ । विष्फोटबाट हुने खतराको कारण पूर्वचेतावनी सूचना प्रणाली जडान गरिएको च्छोरोल्पा हिमताललाई लक्षित गरेर गौरीशंकर गाउँपालिकाले विभिन्न प्रचार समेत गरिरहेको छ । च्छोरोल्पा हिमतालमा करिब ८ करोड ५० लाख घनमिटर पानी रहेको तथ्याङ्क छ । चिसो मौषममा मैदान जस्तै हुने हिमतालमा पुग्न र फर्कन करिब ६ दिनको समय लाग्छ । साढे ३ किलोमिटर लम्बाई र चौडाईं करिब ६ सय मिटर रहेको हिमताल नेपालमा मात्र नभई विश्वप्रशिद्ध भईसकेको छ । ४५५० मिटरको उचाईमा रहेको हिमताल पुग्न हिमआरोहीहरुको गाउँ बेदिङ, ना छिचोल्नु पर्ने हुन्छ । चर्चित अन्तराष्ट्रिय रोल्वालिङ फुटट्रेल हुँदै च्छोरोल्पा पुगिने भएको कारण बाह्य पर्यटकहरुको पनि गन्तव्यस्थल हो । गौरीशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्रमा पर्ने सो हिमताल आसपासबाट केही समयअघि दुर्लभ मानिएको हिमचितुवा रहेको समेत पुष्टि गरेको छ ।

बैत्यश्वर महादेव (बैत्यश्वर गाउँपालिका)

बैत्यश्वर गाउँपालिकाको नामाकरण गरिएको प्रशिद्ध धार्मिक तीर्थस्थल बैत्यश्वर महादेवमा पछिल्लो समय तीर्थयात्रीहरुको बाक्लो भीड लाग्ने गरेको छ । बैत्यश्वर गाउँपालिका–६, नाम्दुस्थित मन्दिरलाई गाउँपालिकाको धार्मिम पर्यटकीय क्षेत्र घोषणा गरेर सडक खनेर यातायातको पहुँच पु¥याइएको छ । भुकम्पले भत्किएपछि पुरातत्व विभागमार्फत जिर्णोद्धार भईरहेको मन्दिरमा शिवरात्री, तीज, साउने संक्रान्ती, अक्षतृतीया लगायतमा मेला लाग्ने गरेको छ । बालाचतुर्दशीमा सबैभन्दा ठूलो मेला लाग्ने मन्दिरमा तराईदेखिका भक्तजनहरु दर्शन गर्न आउने गरेको पाइएको छ । किम्बदन्तीअनुसार मन्दिर रहेको स्थानमा शिला रहेको र बैती नाम गरेको गाईले सो शिलामा दुध दिने गरेको देखेपछि स्थानीयहरुले त्यहाँ भगवान रहेछन् भनेर तत्कालीन प्रधानमन्त्री चन्द्रशमसेरलाई जानकारी गराएपछि बिसं १९८० तिर मन्दिर बनाइएको भन्ने स्थानीयहरुको भनाई छ ।

शैलुङ (शैलुङ गाउँपालिका)

शैलुङ गाउँपालिका–८ स्थित ३१४६ मिटरको उचाईमा अवस्थित दोलखा जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । शैलुङ सम्बन्धि स्थानीयहरु माझ विभिन्न किम्वदन्तीहरु प्रचलनमा रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो । पछि अपभ्रश हुँदै शैलुङ रहन गयो । यसकारण बौद्धमार्गीहरु शैलुङमा एकपटक पुग्नै पर्ने धार्मिकस्थलको रुपमा विश्वास गर्छन् । यातायातको सहज पहुँच र ट्रेकिङ दुबैको एकसाथ अनुभव संगाल्न सकिने दोलखाको अर्को पर्यटकी गन्तव्य शैलुङ डाँडा हो । जहाँ एकसय थुम्का रहेका छन् । हिन्दु र बौद्धमार्गीले शैलुङलाई फरक फरक आस्थाले पूजा गर्छन् । कालिञ्चोक, भीमेश्वर, जिरी पछिको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्यमा शैलुङको नाम चर्चामा आएको छ । हिन्दुहरुले शैलुङलाई शैलुङ्गेश्वर महादेवको रुपमा पुज्ने गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।