राष्ट्रपति रनिङशिल्डको उपाधि कालिन्चोक माविलाई

 आवाज संवाददाता     १३ फाल्गुन २०७६, मंगलवार

शम्भु गौतम । चरिकाेट

फागुन १३, चरिकाेेट । दाेलखाको भीमेश्वर नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको दोस्रो संस्करणको उपाधि कालिन्चोक माध्यमिक विद्यालय चरिकोटले हात पारेको छ ।

भीमेश्वर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको राष्ट्रपति रनिङ शिल्ड कालिन्चोक माविले उचालेको हो । छात्र भलिबल तथा छात्रछात्रा एथलेटिक्समा समेत प्रथम स्थान प्राप्त गरी कूल ६ स्वर्ण पदकसहित कालिन्चोक माविले जित निकालेको हो । अघिल्लो वर्ष आयोजित पहिलो संस्करणको रनिङ शिल्ड पनि कालिन्चोक माविले हात पारेको थियो ।

कालिन्चोक माविले एक सय मिटर छात्रा दौड, ८ सय मिटर छात्र दौड, लङ जम्प छात्रा, हाइजम्प छात्रा, सटपुट छात्र र भलिबल छात्रतर्फ स्वर्णपदक प्राप्त गरेको थियो ।
त्यसैगरी ३ स्वर्णपदक सहित क्षमावती माविले दोस्रो स्थान हासिल गरेको छ । उसले ४ सय मिटर छात्र दौड, ८ सय मिटर छात्रा दौड र लङ जम्प छात्रतर्फ स्वर्ण पदक हासिल गरेको थियो ।

त्यस्तै २ स्वर्णपदक सहित राइजिङ स्टार स्कुलले तेस्रो स्थान प्राप्त गरेको छ । उसले त्रिपल जम्प छात्रा र ४ सय मिटर छात्रा दौडमा स्वर्ण पदक हासिल गरेको थियो ।
विजेता विद्यालय तथा खेलाडीहरुलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले मेडल, प्रमाणपत्र, ट्रफी तथा रनिङ शिल्ड प्रदान गरका थिए ।

प्रतियोगितामा नगरपालिकाभरिका १६ वटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता थियो ।
कार्यक्रम भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीको अध्यक्षतामा भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।