दोलखामा दुईदिने शैक्षिक सम्मेलन हुँदै

 आवाज संवाददाता     १५ फाल्गुन २०७६, बिहीबार

फागुन १५, चरिकोट । दोलखा जिल्लास्थित सामुदायिक विद्यालयहरुको सबलीकरणका लागि जिल्लास्तरिय दुई दिने शैक्षिक सम्मेलन आयोजना हुने भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला शिक्षा समितिको आयोजनामा सदरमुकाम चरिकोटमा फागुन २२ र २३ मा दुईदिने जिल्लास्तरिय शैक्षिक सम्मेलन आयोजना हुने भएको छ । हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण भन्ने राष्ट्रिय नारालाई सार्थकताको दिन दुई दिने शैक्षिक सम्मेलनको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिए ।

सम्मेलनमा बालबिकास केन्द्रदेखि विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको भूमिकालाई प्रभावकारी बनाउनको लागि विभिन्न अनुभव, व्यवस्थापन र नीतिहरुलाई समावेश गरिने कार्यक्रम रहेको इकाई प्रमुख श्रेष्ठले जानकारी दिए । विद्यार्थी ल्याऔं, टिकाऔं र सिकाऔं भन्ने उद्देश्यलाई कार्यान्वयन गर्न आमसमुदायले खेल्नु पर्ने भूमिका, सामुदायिक विद्यालयको रुपान्तरणका निम्ति उत्प्रेरण एवम् समर्पित शिक्षक उत्पादन लगायतका विषयलाई सम्मेलनले सघाउ पु¥याउने उद्देश्य लिइएको इकाईले जनाएको छ ।

सम्मेलनबाट सामुदायिक विद्यालयमा सबलीकरणका क्षेत्रहरु पहिचान गरी सबलीकरणका लागि पहल थाल्ने, प्रधानाध्यापकहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, विषयगत तथा कक्षागत सिकाई उपलब्धि सुदृढ गर्ने लगायतका उपलब्धि हासिल हुने इकाई प्रमुख श्रेष्ठको आशा व्यक्त गरे ।

जिल्लामा रहेका ३४७ ओटा सामुदायिक विद्यालयहरुका प्रधानाध्यापक, देशमा असल अभ्यास गरेका विद्यालयहरुका प्रधानाध्यापक, पाठ्यक्रम विकाससँग सम्वन्धित विज्ञहरु, मन्त्री, अभिभावक तथा अन्य शिक्षकहरुको सहभागिता रहने शिक्षा समितिको योजना छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।