चरिकोटमा १० बेडको कोरोना आइसोलेसन कक्ष निर्माण

 आवाज संवाददाता     २३ फाल्गुन २०७६, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

फागुन २३, चरिकोट । कोविड–१९ कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारको लागि सदरमुकाम चरिकोटमा १० बेड क्षमताको कोरोना आइसोलेसन कक्ष निर्माण गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्यकर्मी, भीमेश्वर नगरपालिका सम्मिलित जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर तत्कालीन महिला तथा बालबालिका कार्यालय रहेको भवनमा १० बेड क्षमताको कोरोना अलग्गै उपचार कक्ष निर्माण गरिने भएको हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरस संक्रमणको उच्च जोखिममा राखेसँगै चीनसँग सिमा जोडिएको दोलखा जिल्लाले पनि अलग्गै उपचारका लागि आइसोलेसन कक्षको व्यवस्था मिलाएको हो ।

चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र नजिकै प्रयोगविहीन अवस्थामा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयमा शनिबारसम्ममा सो कक्ष निर्माण गरिने दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले वर्तमान परिस्थितिलाई मध्यनजर गरेर प्रयोगविहीन अवस्थाको सो भवनलाई अलग्गै उपचारको व्यवस्थाको लागि प्रयोग गर्न सहमति दिईएको बताए ।

अलग्गै उपचार गर्ने सो आइसोलेसन कक्षको लागि बेड, स्वास्थ्यकर्मी, औषधि र उपकरणको व्यवस्थापन चरिकोट अस्पतालले गर्ने प्रजिअ शर्माले जानकारी दिए । प्रशासनद्वारा शुक्रबार एक सूचना जारी गरी सम्पूर्ण दोलखाली नागरिकहरुलाई सचेत रहन समेत अनुरोध गरेको छ । साथै प्रशासनले अर्को निर्णय नभएसम्मका लागि सामुहिक रुपमा भेला, मेला, महोत्सव, सभा, सम्मेलन तथा होली लगायतका पर्व आयोजना नगर्न अनुरोध समेत गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।