तीन अध्यक्ष रहने गरि राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति

 आवाज संवाददाता     २४ फाल्गुन २०७६, शनिबार

फागुन २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच पार्टी एकता गर्ने सहमति भएको छ । यसको घोषणा २८ गते हुनेछ ।

लप्सी गार्डेन लाजिम्पाटमा शनिबार राति भएको १० बुँदे सहमतिअनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी तीन जना अध्यक्ष रहनेछन् ।

पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रुपमा राजसंस्थासहितको प्रजातन्त्र पार्टीको नीति र सिद्धान्त हुनेछ ।

अहिले राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा हुनेछ भने चुनाव चिन्ह टुंगो लागेको छैन । यसबारे पार्टीको उपयुक्त निकायबाट ६ महिनाभित्र निर्णय लिने सहमति छ ।

यस्तै आगामी ढेड वर्षभित्र महाधिवेशन गर्ने, त्यसबेलासम्म पार्टीको दैनिक कार्यसञ्चालनका लागि तीन अध्यक्ष रहने निर्देशक समिति बनाइनेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।