दोलखामा साढे १५ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै

 आवाज संवाददाता     २९ फाल्गुन २०७६, बिहीबार

रवीन्द्र गौतम । दोलखा

फागुन २९, चरिकोट । स्वास्थ्य कार्यालय दोलखाले साढे १५ हजार बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउने भएको छ ।
दादुरा रुवेला खोपको राष्ट्रिय अभियानअन्र्तगत स्वास्थ्य कार्यालय दोलखले नौमहिनादेखि ५ बर्षसम्मका १५ हजार ७ सय ८२ बालबालिकालाई खोप लगाउने भएको हो ।

९ स्थानीय तह रहेको दोलखा जिल्लामा चैत २ गतेदेखि ५ ओटा स्थानीय तह र चैत १३ गतेदेखि ४ ओटा स्थानीय तहमा दादुरा रुबेलाको खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।

पहिलोचरणमा भीमेश्वर नगरपालिका, विगु, गौरीशंकर, कालिञ्चोक र शैलुङ गाउँपालिकामा चैत २ गतेदेखि १० गतेसम्म खोप सञ्चालन हुनेछ । दोस्रोचरणमा जिरी नगरपालिका, बैत्यश्वर, तामाकोशी र मेलुङ गाउँपालिकामा चैत १३ गतेदेखि २१ गतेसम्म दादुरा रुबेलाको खोप लगाउने कार्यक्रम छ । नौमहिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई दादुरा रुबेला खोप दिई दुबै रोगहरु दोलखाबाट निवारण गर्ने प्रमुख झाले बताए ।

दादुरा रुबेला विरुद्धको खोप लगाउने यो पाँचौ राष्ट्रिय अभियान हो । खोप लगाउनको लागि जिल्लामा २९० ओटा खोप केन्द्र स्थापना गरिएको छ भने सरदर प्रत्येक स्थानीय तहमा कम्तिमा ३० ओटा केन्द्रको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । खोप लगाउनको लागि २ सय स्वास्थ्यकर्मी र एकहजार २७५ स्वास्थ्य स्वयँसेवीकाहरु परिचालन गरिने प्रमुख झाले जानकारी दिए ।

बागमती प्रदेशको नुवाकोट बाहेक सबै १२ जिल्लाहरुलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरि सहिएको छ । अझै केहि बालबालिकाहरु खोप लगाउन नियमित खोपकेन्द्र नगएको तथ्याङ्कले देखाएको छ । अभियानको अवधिमा सबै अभिभावकहरुले आफ्ना सन्तानहरुलाई खोप लगाई अभियान सफल बनाउन र रोगबाट बच्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।