परमिट बिनाका गाडी रोकिए, यात्रुहरु अलपत्र

 आवाज संवाददाता     ४ भाद्र २०७३, शनिबार

दोलखा, ४ साउन/दोलखाका गाउँगाउँ जाने बस सेवा शनिबारदेखि बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् । रुट परमिट नभएका ठाउँहरुमा प्रहरीले बससेवा बन्द गराएपछि यात्रुहरु अलपत्र परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाले शुक्रबार यातायात व्यवसायी समितिसँग बैठक बसी शनिबारदेखि रुट परमिट नभएका गाडी रोक्ने सहमती गरेको थियो । नेपाल सरकारको निर्णय अनुसार रुट परमिट नभएका सवारी साधन रोक्ने सहमती गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । प्रहरीले गाडी रोकपछि दोलखाको उत्तरी क्षेत्र सिंगटीतिर जाने बस शनिबार बिहानै जिल्ला प्रहरी कार्यालय दोलखा अगाडी रोकिएका छन् ।
बस सेवा रोकिएपछि सिंगटी आसपासका क्षेत्र जाने सयाैँ यात्रु अलपत्र परेका छन् । दोलखामा चल्ने गाडीहरु काठमाडौं–जिरीको मात्र रुटपरमिट छ । परमिट नभएका गाडी श्रम तथा यातायात मन्त्री रमेश लेखकको अध्यक्षतामा प्रहरी र यातायात व्यवसायी महासंघका प्रतिनिधिहरु बीच भएको बैठकले रोक्ने निर्णय गरेको थियो । सोही निर्णयको परिपत्रको आधारमा गाडी रोक्नु परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख बेलबहादुर पाण्डेले बताए ।
रुटपरमिट बिनाका गाडी रोकिँदा चरिकोटदेखि दोलखाको उत्तरी क्षेत्रका २४ गाविस प्रभावित भएका छन् । त्यसैगरी मैनापोखरी जुँगू, जिरी पूर्व, तामाकोसीदेखि दक्षिणका गाउँ र मुडे–देउराली चल्ने गाडी रोकिएका छन् ।
साउन ३१ गते अरनिको यातायातको कोसीपारी चल्ने बिर्ता देउरालीमा दुर्घटना भई २७ जनाले ज्यान गुमाएपछि रुट परमिट बिनाका गाडी रोक्ने निर्णय भएकाे हो ।

प्रहरीलाई गाडी रोक्न आएको परिपत्र

police

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।