अपराध नियन्त्रणमा प्रहरीको सीसी टीभी

 आवाज संवाददाता     ४ भाद्र २०७३, शनिबार

अपराधिक घटना बढ्दै गएपछि दोलखा प्रहरीले आफ्नै कार्यालय र मुख्य चोक र नाकामा सीसी टीभी मार्फत निगरानी सुरु गरेको छ । अपराध नियन्त्रण तथा अपराध अनुसन्धानमा नयाँ प्रविधिको उपयोग बढ्दै गएका बेला दोलखामा पनि जिल्ला प्रहरी कार्यालय मार्फत सीसी टीभीको जडान गरेको हो ।
जिल्ला प्रहरी कार्यालयको पहलमा डेढ महिनादेखि यसको प्रयोग हुन थालेको हो ।  नेपाल प्रहरीको समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कार्यमा प्रविधिको प्रयोग गरी थप प्रभावकारीता थप्ने प्रयत्न स्वरुप पहिलो चरणमा केही ठाउँमा सीसी टीभी प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए । अहिले जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष, केरकार शाखा, जिल्ला कारागार, सातदोबाटो चरिकोट, जिल्ला भित्रीने र बाहिरीने मुख्य नाका खरिढुङ्गा र किर्ने चेकपोष्टमा सीसीटीभी जडान गरिएको उनले बताए ।
चरीकोटमा भीडभाड बढेसँगै सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रहरी कार्यालय, दोलखाले सुरक्षा व्यवस्था मजबुत बनाउन सीसी क्यामेराबाट समेत निगरानीको व्यवस्था मिलाएको हो । चरीकोटको सातदोबाटो क्षेत्रलाई क्लोज सर्किट २ र ओभरल २ गरी ४ ओटा सीसी क्यामेराले निगरानी गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए ।
दोलखाबाट बाहिरिने प्रमुख नाका लाकुरीडाँडाको खरीढुङ्गामा पनि २ ओटा र शहरे गाविसको किर्नेटारमा एउटा क्यामेराले निगरानी गरिएको उनले बताए । जिल्लास्थित विभिन्न सरकारी एवम् अन्य निकायको सहयोगमा सीसी क्यामेरा जडान गरिएको प्रहरीको भनाइ छ । शहरेको किर्नेटारमा विगत ५ महीनादेखि, लाकुरीडाँडाको खरीढुङ्गामा डेढ महिनादेखि र चरीकोटमा असार १५ गतेबाट सीसी क्यामेराले निगरानी गरिएको हो ।
राजधानीलगायत विभिन्न स्थानमा आपराधिक क्रियाकलापमा संलग्न भएकाहरू लुक्न दोलखाका विभिन्न क्षेत्रमा आउने गरेको सूचना पाएपछि सीसी क्यामेरा जडान गर्नुपरेको प्रहरीको दाबी छ । अहिले जिल्लाका भीड हुने स्थान तथा सुरक्षाका दृष्टिले अतिसंवेदनशील मानिएका स्थानमा सीसी क्यामेरा जडान गरिएको छ । यसबाट विभिन्न आपराधिक गतिविधि सीसी क्यामेरामा कैद हुने र न्याय प्रणालीमा समेत सहयोग पुग्ने प्रहरीको अपेक्षा छ ।
कारागार भित्र भेटघाट कक्ष र कैदीहरु घुमफिर गर्ने घुमफिर गर्ने कक्षमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयमा राखिएको क्यामेरा प्रहरी प्रमुख आफैंले निगरानी गर्ने गरी राखेको छ । बजार क्षेत्रको सातदोबाटो प्रहरीले निगरानी गर्छ । सबैलाई जिल्ला प्रहरी कार्यालयबाटै निगरानी गर्न खोजे पनि फाइबर नभएकालमे महङ्गो पर्ने हुँदा त्यो व्यवस्था तत्काल गर्न नसकिएको प्रहरी प्रमुख पाण्डेले बताए ।
सीसीटीभी जडानका लागि प्रहरीले आफ्नै स्रोत नभएपछि विभिन्न व्यवसायी र आयोजनाहरुको सहयोग लिएको छ । खरिढुङ्गा चेकपोष्टमा लागेको खर्च माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले भुक्तानी गरेको छ भने किर्नेमा हिमाल पावर लिमिटेडले जडान गरेर हस्तान्तरण गरेको पाण्डेले बताए ।
सातदोबाटो चोक र कारागारको जडान सहितको सम्पूर्ण खर्च जिल्ला विकास समिति दोलखा, भीमेश्वर नगरपालिका र दोलखा उद्योग वाणिज्य संघले सहयोग गरेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय भित्र राखेको खर्च पूर्व सभासद तथा व्यवसायी जीपछिरिङ लामा शेर्पाले गरेको उनले बताए ।
सीसीटीभी जडानपछि अपराधिक गतिविधि निगरानी र अनुसन्धानमा सहयोग पुगेको बताए । सातदोबाटो र जिल्ला प्रवेश नाकामा राखेको क्यामेराबाट ट्राफिक व्यवस्थापन र नियम उलंघन गरी भाग्ने सवारी साधन नियन्त्रणमा सहयोग पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चरिकोटका प्रमुख राजकुमार दुलालले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।