बहिरा अनाथ असहाय ५० बालबालिकालाई काँग्रेसद्वारा खाद्यन्न वितरण

 आवाज संवाददाता     २२ चैत्र २०७६, शनिबार

चैत २२, चरिकोट । सदरमुकाम चरिकोट आसपासमा रहेका बहिरा, अनाथ र असहाय ५० बालबालिकाहरुलाई काँग्रेस दोलखाले खाद्यन्न वितरण गरेको छ ।

भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित बहिरा, अनाथ र असहाय गरी ५० बालबालिकाहरुलाई शनिबार काँग्रेस दोलखाद्वारा खाद्यन्न वितरण गरेको हो । आफ्नै आयस्रोत नभएका र कोरोना भाईरसको सम्भावित संक्रमणको जोखिमको कारण गरिएको लकडाउनले खाद्यन्न कमि हँुदै गएपछि काँग्रेसको अगुवाईमा दैनिक उपभोग्य बस्तु बितरण गरिएको काँग्रेस दोलखाले जनाएको छ ।

भीमेश्वर नगरपालिका–३ निवासी समाजसेवी देभाकुमार श्रेष्ठको २० हजार सहयोगमा उपलब्ध हुने खाद्यन्न ति बालबालिकाहरुको लागि वितरण गरिएको नेपाली काँग्रेस दोलखाका सचिव सन्तोष रिमालले जानकारी दिए । भीमेश्वर आधारभूत बहिरा विद्यालयका ८, गौरीशंकर बालगृहका ३१ र आवाज नेपालका ११ असहाय बालबालिकाहरूलाई चामल, दाल, चिनी, नुन र तेल वितरण गरिएको भीमेश्र नगरपालिका–३ का वडाध्यक्ष एवम् काँग्रेस दोलखाका सहसचिव हरिशरण शिवाकोटी बताए ।

आवाज नेपाललाई २ बोरा चामल, ५ किलो दाल, ५ लिटर तेल, ५ किलो नुन र २ किलो चिनी वितरण गरिएको छ भने विद्यालय र बालगृहलाई पनि सोही परिमाणमा खाद्यान्न वितरण गरिएको वडाध्यक्ष शिवाकोटीले बताए । नेपाली काँग्रेस दोलखा प्रदेश क्षेत्र–२ का क्षेत्रीय सभापति जयराम श्रेष्ठ, नेपाल महिला संघ भीमेश्वर नगर तदर्थ समितिकि सभापति अनिता श्रेष्ठ लगायतको उपस्थितिमा दैनिक उपभोग्य बस्तु वितरण गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।