काँग्रेस दोलखाको अपिलः लकडाउनको पूर्ण पालना गरेकामा आभार व्यक्त

 आवाज संवाददाता     ७ बैशाख २०७७, आईतवार

बैशाख ७, चरिकोट । नेपाली काँग्रेस दोलखाले आइतबार एक अपिल जारी गरी लकडाउनको पूर्ण पालना गरेकोमा समग्र दोलखालीलाई आभार व्यक्त गरेको छ ।

काँग्रेस दोलखाका सचिव सन्तोष रिमालद्वारा आइतबार जारी अपिलमा कोरोना भाईरसको सम्भावित संक्रमण हुन नदिन कठिन परिस्थितिको सामना गर्दै सरकारले आह्वान गरेको लकडाउनको पूर्ण पालना गरेकोमा आभार व्यक्त गरिएको छ ।

दोलखा जिल्लाबासीहरु राजधानी लगायत विभिन्न स्थानमा कुनै समस्यामा परेको भए संकोच नमानिकन संघीय माननीय सांसद जीपछिरिङ लामा र दोलखा काँग्रेस पार्टी सभापति रुद्रबहादुर खड्कालाई सम्पर्क गर्न अपिलमा अनुरोध गरिएको छ ।

घरपरिवारसम्म पुग्नको लागि पैदल यात्रा गरिरहेका नागरिकहरुलाई विना झण्झट गन्तव्यसम्म पु¥याई सहयोग गर्न अपिलमार्फत काँग्रेस दोलखाले सरकारको ध्यानाकर्षण गराएको छ ।

दोलखाका ९ स्थानीय तहहरुका जनप्रतिनिधिहरुको जिम्मेवार भूमिका नदेखिएकोले यथासक्य चाँडो जिम्मेवार बनि जिल्लाका नागरिकहरुको आवश्यकताअनुसारको व्यवस्थापन गर्न काँग्रेस दोलखाले अपिल गरेको छ ।

लकडाउन लम्बिँदै जाँदा खाद्यन्न, औषधि लगायतका अत्यावश्यक सामग्रीको कालोबजारी हुने सम्भावना भएकोले त्यसतर्फ जिल्ला विपद् व्यवस्थापन समितिको समेत अपिल जारी गरी ध्यानाकर्षण गराएको छ ।

जिल्लाका ७४ ओटै वडाहरुमा कोरोना भाईरसको महामारी नियन्त्रण गर्न पूर्व तयारी र रोकथामका निम्ति गरिने हरेक कार्यक्रम सचेतना लगायत पार्टी संयन्त्र, भातृ, भगिनि र शुभेच्छुक संघ संस्थाहरुलाई जुट्नको लागि निर्देशन समेत जारी गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।