अलपत्र १५८ मजदुर घर पठाईयो, दोलखालाई दिए धन्यवाद !

 आवाज संवाददाता     ८ बैशाख २०७७, सोमबार

रवीन्द्र गौतम । दोलखा

बैशाख ८, चरिकोट । लकडाउनको कारण काम, माम र दाम नपाएर दोलखाको विभिन्न स्थानमा अलपत्र परेका मजदुरहरुलाई बस चढाएर घर पठाईएको छ ।

भीमेश्वर नगर आसपासमा रहेका तथा जिल्लाका विभिन्न स्थानबाट हिँडेर सदरमुकाम चरिकोट आईपुगेर अलपत्र परेका १५८ मजदुरलाई सोमबार रोल्वालिङ यातायातको बस चढाएर घर पठाईएको हो । लकडाउनको कारण सदरमुकाम आसपासमा अलपत्र परेकाहरुलाई भीमेश्वर नगरपालिकाको अगुवाईमा बस चढाएर घर पठाईएको हो ।

काभ्रेपलाञ्चोक, रौतहट, बर्दिया, सल्यान लगायतका जिल्लाबाट दोलखामा मजदुरी गर्न आएर लकडाउनले अलपत्र परेका मजदुरहरुलाई ५ ओटा बसमा चढाएर घर पठाईएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले जानकारी दिए । चरिकोट आईपुगेका मजदुरहरुलाई नगरपालिकाको अगुवाईमा खाना, खाजाको व्यवस्था समेत गरी घर पठाईएको मेयर केसीले जनाएका छन् ।

जिल्लाको विभिन्न स्थानमा निजी आवास तथा विद्यालय पुर्ननिर्माणको काम गरिरहेका मजदुरहरुलाई घर पठाउने व्यवस्था मिलाईएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । हप्तौँसम्म हिँडेर जाँदा खेप्नु पर्ने दुखले राज्यविहीनताको प्रश्न उठ्न सक्ने भएकोले घर जान चाहने मजदुरहरुलाई संकलन गरेर पठाइएको प्रजिअ शर्माले जनाए ।

गौरीशंकर गाउँपालिका–८, खारेबाट १२ घण्टा हिँडेर चरिकोट आईपुगेका बर्दिया राजापुरका सुरेश थारुले बस चढेर घर जान पाएकोमा सबै सरहरुलाई धन्यवाद भने । करिब १५ दिन लागे पनि हिँडेरै जाने आँटेर सदरमुकाम चरिकोट आईपुगेका बर्दिया राजापुरका मसिराम थारुले भने, ‘बस चढेर जान पाइयो, दोलखालाई धन्यवाद ।’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।