दोलखाको ४ स्थानीय तहमा नियमित खोप सेवा सुरु

 आवाज संवाददाता     १५ बैशाख २०७७, सोमबार

रवीन्द्र गौतम । दोलखा

बैशाख १५, चरिकोट । दोलखाको ४ ओटा स्थानीय तहले नियमित खोप सेवा कार्यक्रम सुचालू गरेका छन् । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि महिना दिन यता रोकिएको नियमित खोप कार्यक्रम दोलखाको ४ ओटा स्थानीय तहले सुरु गरेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोक्न भौतिक दूरी कायम गर्नु पर्ने भएकाले नियमित खोप सेवा रोक्नु परेको थियो । कोभिड–१९ को महामारीको समयमा नियमित खोप कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सूचना जारी गरे पछि विगु, तामाकोशी, मेलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकाले नियमित खोप कार्यक्रम सुरु गरेको झाले बताए ।

बालबालिकालाई जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ वटा रोगविरुद्ध खोप दिइन्छ । जसमा बीसीजी, डीपीटी, हेपाटाइटिस बी, दादुरा, जापानिज इन्सेफ्लाइटिस लगायत पर्छन् ।

भौतिक दूरी कायम गरेर नियमित खोप सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन र बच्चा लिएर आउने आमाहरुलाई अनुरोध गर्ने गरेको स्वास्थ्य कार्यालयको भनाई छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।