चरिकोट–सिंगटी सडकमा बसको परमिट सिफारिस

 आवाज संवाददाता     ५ भाद्र २०७३, आईतवार

चरिकोटदेखि सिंगटीसम्मको सडकमा यात्रुबाहक बसलाई परमिट दिन जिल्ला प्रशासन कार्यालय दोलखाले यातायात व्यवस्था विभागलाई सिफारिस गरेको छ । शनिबारदेखि परमिट नभएका भन्दै बसहरु रोकिएपछि आइतबारै जिल्ला प्रशासन कार्यालयले परमिटका लागि सिफारिस गरेको हो ।
लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवेशमार्गको रुपमा रहेको चरिकोटदेखि लामाबगरसम्मको ६८ किलोमिटर सडक आयोजना आफैंले निर्माण, स्तरोन्नती र नियमित मर्मतसंहारको काम गर्दै आएको छ । “आयोजनाको हेवी इक्वीमेण्ट ओसार पसारका लागि निर्माण गरेको सडकमा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ” जिल्ला प्रशासनले यातायात व्यवस्था विभागलाई गरेको सिफारिसमा भनिएको छ “सडक फराकिलो, स्तरयुक्त र सार्वजनिक सवारी सञ्चालन योग्य छ ।”
दोलखाको ४८ गाविस र २ नगरपालिका मध्ये उक्त सडकले २५ गाविसलाई समेट्छ । जिविसले निर्माण गरेको सडकमा कुनै पनि यातायात व्यवसायीले बस सेवा सञ्चालन नगरेपछि सुनखानी, सुन्द्रावती, क्षमावती र आसपासका स्थानीयहरुले आफैं शेयर उठाएर बस खरिद गरी २०५८ सालदेखि बस सञ्चालन गरेको सडक हो ।
बस सेवा सञ्चालन भएको १५ वर्षपछि शनिबारदेखि उक्त सडकमा कुनै पनि सार्वजनिक सवारी साधन परमिट नभएको भन्दै चरिकोटमै रोकिएका छन् । बस बन्द भएपछि हजारौं यात्रुहरु सास्ती भोग्न बाध्य भएका छन् ।
यात्रुहरुको समस्यालाई मध्येनजर गर्दै सिंगटीसम्मको सडकका लागि परमिटका लागि यातायात व्यवस्था विभागलाई सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । चरिकोटदेखि दोलखासम्मको सडक कालोपत्रे भए तापनि थप विस्तार हुँदै छ । त्यसैगरी दोलखा–सिंगटी ३५ किलोमिटर सडक विस्तार र कालोपत्रेका लागि सडक विभाग अन्र्तगत छुट्टै आयोजना बनाएर बोलपत्र समेत आव्हान भएको छ ।
काठमाडौंबाट सिंगटी क्षेत्रमा मात्र दैनिक ओहोरदोहोर ५० वटा बढी बस चल्ने रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । “अप्ठ्यारो बेलामा बस तान्दै र ठेल्दै आफैंले जोखिम मोलेर चलायौं” उनले भने “अहिले सडक स्तरयुक्त भएपछि परमिट नभएको भन्दै बन्द भयो ।” केही दिन बन्द भए तापनि यातायात क्षेत्रको दिर्घकालिन समाधानको लागि माग गरे ।
दोलखामा चल्ने गाडीहरु काठमाडौं–जिरीको मात्र रुटपरमिट छ । परमिट नभएका गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको अध्यक्षतामा प्रहरी र यातायात व्यवसायी महासंघका प्रतिनिधिहरु बीच भएको बैठकले रोक्ने निर्णय गरेको थियो । सोही निर्णयको परिपत्रको आधारमा गाडी रोक्नु परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख बेलबहादुर पाण्डेले बताए ।
रुटपरमिट बिनाका गाडी रोकिँदा सिंगटी क्षेत्र सहित मैनापोखरी जुँगू, जिरी पूर्व, तामाकोसीदेखि दक्षिणका गाउँ र मुडे–देउराली चल्ने गाडी रोकिएका छन् । तामाकोसीदेखि मन्थलीसम्मको सडक समेत कालोपत्रे भए तापनि परमिट नहुँदा रोकिएका छन् । सरकारले उक्त सडकमा समेत परमिट जारी गरेको छैन ।
साउन ३१ गते अरनिको यातायातको कोसीपारी चल्ने बिर्ता देउरालीमा दुर्घटना भई २७ जनाले ज्यान गुमाएपछि रुट पcdoरमिट बिनाका गाडी रोक्ने निर्णय हो । परमिट बिनाका बसलाई मात्र रोक्दा बसहरु चरिकोट, तामाकोसी, मुडे र जिरीमा रोकिएका छन् । बसहरु रोकिंदा यात्रुहरुलाई पुनः २० वर्ष पछाडी फर्केको अनुभव भएको छ । २० वर्ष अघिसम्म गाउँ गाउँबाट बस चढ्नका लागि चरिकोट, जिरी, तामाकोसी र मुडे पुग्नु पथ्र्यो । ग्रामीण सडक खुलेपछि दोलखाका हरेक गाउँमा राजधानीबाट सोझै बस सेवा सञ्चालन हुँदै आएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।