मेलुङ गाउँपालिकाद्वारा २५ सयको उद्धार

 आवाज संवाददाता     १८ बैशाख २०७७, बिहीबार

बैशाख १८, चरिकोट । दोलखाको मेलुङ गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका करीब २५ सय जनाको उद्धार गरेको छ । लकडाउनका कारण काठमाडौंमा नै रोकिएका जिल्लाको गाउँपालिकाका विभिन्न वडामा वसोवास गर्नेहरूलाई गाउँपालिकाले घर फर्काउन बसको व्यवस्था गरी उद्धार गरेको हो ।

काठमाडौंमा रहेकाहरूलाई गाउँपालिकाले निःशुल्क रुपमा गाडीको व्यवस्था गरी फर्काएको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । २ दिनमा करीब २५ सय स्थानीय गाउँपालिका फर्किने उनको भनाइ छ । तेस्रो मुलुक तथा भारतबाट आएका बाहेकलाई गाउँपालिकामा ल्याइने व्यवस्था मिलाईएको गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताए ।

गाउँ फर्किएकाहरूलाई घरमै सुरक्षित रुपमा १४ दिनसम्म बस्न आग्रह गरिएको उनले बताए । गाउँपालिकाका स्थानीयहरूलाई घर फर्काउन २० देखि २५ लाख खर्च हुन सक्ने उनको भनाइ छ । गाउँपालिकाले निर्णय नै गरेर स्थानीयहरुलाई झिकाएकोले तत्काल खर्च गरेकाहरुको रकम गाउँपालिकाले भुक्तानी गर्ने प्रवक्ता थोकरले बताए ।

संकटको बेलामा आफूहरूलाई घर आउने व्यवस्था मिलाई गाउँपालिकाले ठूलो गुन लगाएको काठमाडौंबाट गाउँपालिकाले व्यवस्था गरेको बसमा फर्किएका मेलुङका विष्णु श्रेष्ठले बताए । मेलुङ गाउँपालिकाकाका अतिरिक्त अन्य गाउँपालिका तथा नगरपालिकाले पनि स्थानीय बासिन्दाहरूलाई उद्धार गर्ने कार्यमा पहल गरिरहेको बताएका छन् ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले कालिञ्चोक गाउँपालिकाले काठमाडौंमा फसेका लाई लिनकालागि १५ ओटा गाडी पास दिएर पठाइएको बताए । गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काले विद्यार्थीहरू, भाडा पनि तिर्न नसक्नेहरूलाई गाउँपालिका फर्कने व्यवस्था मिलाइरहेको बताए ।

यस्तै बैतेश्वर, शैलुङ, तामाकोशी, विगू गाउँपालिकाले अलपत्र परेकाको वडामार्फत पहिचान गरी झिकाउन पहल गरिरहेका छन् । साथै गाउँ फर्किएकाहरूलाई १४ दिनसम्म सुरक्षित रुपमा आफ्नै घरमा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । साथै वडागत रूपमा अनुगमनलाई तीव्र बनाइने पनि बताएका छन् । भीमेश्वर र जिरी नगरपालिकाले स्थानीयहरूलाई काठमाडौंबाट झिकाउन विभिन्न संयन्त्रमार्फत काम गरिरहेको बताएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।