स्थानीय र यातायात व्यवसायीबाट बिपी राजमार्ग अवरुद्ध

 आवाज संवाददाता     ५ भाद्र २०७३, आईतवार

प्रहरीले रुट परमिटबिनाका सवारी साधन सञ्चालनमा रोक लगाउँदा आफुहरुलाई समस्या भएको भन्दै स्थानीय र यातायात ब्यवासायीले सिन्धुलीको खुर्कोटस्थित बिपी राजमार्ग अबरुद्ध गरेका छन् ।

गत बिहीबारबाट प्रहरीले रुट परमिटबिनाका सवारी साधनहरुलाई बिपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र जिल्लाका ग्रामिण भेगमा चलाउन रोक लगाएको विरोधमा स्थानीय र यातायात ब्यावसायीहरुले सडक अबरुद्ध गरेका हुन् ।

सयौंको संख्यामा जम्मा भएका बन्दकर्ताहरुले सडक अबरुद्ध गर्दा बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै राजधानी काठमाण्डौं भित्रने र बाहिरीने हजारांै सवारी साधन दुई घण्टादेखि अलपत्र परेका छन् ।

बन्दकर्ताले खुर्कोटबाट सिन्धुलीमाढी हुँदै तराई भित्रने र मध्यपहाडी लोकमार्ग हुँदै, उदयपुरको घुर्मी, ओखलढुङ्गा, सोलुखसम्बु लगायतका क्षेत्रमा जाने आउने सवारीसाधनहरु रोकेका छन् । यस्तै रामेछाप तथा दोलखा जाने आउने सवारी साधनहरु समेत बन्दमा परेका छन् ।

रुट पर्मिटबिनाका सवारीसाधन नचल्दा स्थानीयले आवतजावत गर्न सिट नपाएको, थोरै संख्यामा रुट पर्मिट भएका सवारी साधनले खुर्कोट तथा मध्यपहाडी लोकमार्ग आसपासका स्थानीयलाई नचढाउने गरेको बताए ।

ग्रामिण क्षेत्रका बसहरु चार दिनदेखि ब्यावसायीले सञ्चालनमा अबरुद्ध गर्दा यात्रुलाई सास्ती भएको भन्दै रुट पर्मिट भएका सवारी साधन सञ्चालन गर्नुपर्ने र खुर्कोटलाई उचित सिट छुट्याउनु पर्ने पनि माग गरेका छन् ।

स्थानीयको माग जायज भएपनि सडक अबरुद्ध गर्नु  गैरकानुनी भएको प्रहरीले जनाएको छ । स्थानीयले अवरुद्ध गरेको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता  प्रहरी नावय उपरीक्षक श्यामकुमार सारुमगरले बताए ।

रुट परमिट विनाका सावारी साधनलाई सिन्धुलीको माढी र नेपालथोबाटै फर्काउने र आवश्यक कारबाही गर्ने गरेको प्रहरीले जनायो । प्रहरीले रुट पर्मिटबिना सञ्चालन गरिएका २६ वटा भन्दाबढी सावारी साधानलाई कारबाहीको लागि प्रक्रिया अघि बढाएको पनि जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF