लकडाउनमा दोलखाको एउटै टोलबाट बिक्यो साढे ३ टन लसुन

 आवाज संवाददाता     १ जेष्ठ २०७७, बिहीबार

रवीन्द्र गौतम । दोलखा

जेठ १, चरिकोट । जिल्लाका धेरै किसान लकडाउनको कारण मर्कामा परिरहेका बेला पूर्वी दोलखाको बैत्यश्वर गाउँपालिकाका एउटै टोलका किसानहरुले भने राम्रो मूल्य लिएर साढे ३ टन लसुन विक्री गरेका छन् ।

लकडाउनले अन्य तरकारी उत्पादन गरिरहेका किसानले घाटा ब्यहोरी रहेका बेला बैत्यश्वर गाउँपालिका–३, मझुवा टोलका लसुन किसानहरुले भने अघिल्लो बर्षको भन्दा करिब ५८ प्रतिशत बढि मूल्य लिएर ३५ सय केजी लसुन बिक्री गरेका हुन् । अघिल्लो बर्ष प्रतिकेजी ७० मा विक्री भएको लसुन लकडाउनले यसपाली प्रतिकेजी १२० रुपैयाँमा विक्री गरेको किसानहरु बताउँछन् ।

बैत्यश्वर गाउँपालिका–३, मझुवाका किसान इन्द्रबहादुर खड्काले यसपाली राम्रो मूल्य लिएर लसुन विक्री भएकोमा खुशी व्यक्त गरे । पुरै सुकेको लसुन कालिमाटी तरकारी बजारमा प्रतिकेजी २५० भए पनि आलै लसुनको राम्रो मूल्य पाएको उनले बताए । यसपाली नौसय २१ केजी लसुन बिक्री गरेका खड्काले एकलाख १० हजार आम्दानी गर्न सफल भएको बताए ।

‘पोहोरको भन्दा उत्पादन पनि बढ्यो र मूल्य पनि राम्रो पाइयो ।’ शिक्षक समेत रहेका किसान खड्काले बताए । मझुवा टोल छेउछाउबाट लसुन ठेकेदारले साढे ३ टन लसुन खरिद गरेको उनले बताए । अर्का किसान राजकुमार दाहालले लकडाउननै भएपनि प्रतिकेजी १२० को दरले ३५० केजी लसुन विक्री गरेको बताए । लकडाउन लगायतका कारण यसपाली लसुनको राम्रो मूल्य पाइएको उनले बताए ।

मौषमको कारण यसपाली केहि छिटो बारीबाट लसुन उखेल्नु परेको किसानहरु बताउँछन् । मौषमले केही बाधा पारे पनि लकडाउनले लसुनको राम्रो मूल्य पाइएको किसान दाहालले खुशी व्यक्त गरे । मझुवा टोल आसपासका किसानहरुले लसुन विक्री गरेर मात्र साढे ४ लाख आम्दानी गरेको पाइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।