गौरीशंकर संरक्षण क्षेत्रद्वारा फेरि रतुवा मृगको उद्धार

 आवाज संवाददाता     ७ जेष्ठ २०७७, बुधबार

जेठ ७, चरिकोट । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले लकडाउकै अवधिमा तेस्रोपटक बन्यजन्तुको उद्धार गरेको छ ।

उत्तरी दोलखाको विगु गाउँपालिका–५, चिलंखा लाईसेपबाट बुधबार स्थानीयले आफ्नो गोठनजिक भेटेको रतुवा मृगको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाद्वारा उद्धार गरेको हो । चिलंखा लाइसेपका खिमबहादुर खड्काले मंगलबार चौपाया चराउन जाने क्रममा मृगको पाठो भेटेर घरमा लगेर संरक्षण क्षेत्र आयोजनालाई खवर गरे पश्चात पुगेको आयोजना प्रमुख सत्यनारायण शाहसहितको टोलीले रतुवा मृग बुझेको आयोजनका संरक्षणकर्मी शंकर थामीले बताए ।

मृगलाई भेटेका स्थानीय खड्काले एक अनौपचारिक कार्यक्रमको आयोजना गरी आयोजना प्रमुख शाह, संरक्षण वन उपभोक्ता संजालका अध्यक्ष रामचन्द्र खड्का लगायतलाई मृग हस्तान्तरण गरेका थिए ।

कृषक खड्काले कृषकहरुको बालीनाली मृग, दुम्सी, बाँदर लगायतका वन्यजन्तुले क्षति गरिरहेको अवस्था पनि मृगको पाठोलाई उद्दार गर्न पाउँदा खुसी लागेको बताए । मृग हस्तान्तरण गर्दै किसान खड्काले आयोजना क्षेत्रभित्रका मानव र वन्यजन्तु विचको द्वन्द आयोजनाले समाधान गर्नुपर्ने पनि बताए ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख शाहले कृषकको बालीनाली क्षति गरिरहेको अवस्थामा पनि वन्यजन्तुको उद्दार गरी सहानुभुति देखाएबापत धन्यवाद व्यक्त गरेका छन् ।

मानव र वन्यजन्तु विचको द्वन्द अन्तरगत मानवक्षती र पशुधनको क्षती लगायतमा राहत तथा क्षतिपूर्ति भुक्तान गरिरहेको धारणा व्यक्त गरे । उद्धार गरिएको मृगको पाठोलाई पालनपोषन गरि केहि समयपश्चात फेरि प्रकृतिक वासस्थानमा छोडिने आयोजना प्रमुख शाहले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।