न्यूक्लियस पनि फुट्यो

 आवाज संवाददाता     ५ भाद्र २०७३, आईतवार

माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने अर्को माओवादी पनि विभाजनको शिकार भएको छ । केही समय अगाडि बनेको केन्द्रीय न्युक्लिअस नेपाल विधिवतरुपमा विभाजित भएको हो ।

न्यूक्लियसमा तत्कालीन एमाओवादीबाट अलग्गिएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र वैद्य माओवादीबाट अलग्गिएका डा. ऋषिराज बराललगायतका नेताहरु रहेका थिए । उक्त न्यूक्लियस पनि आज विधिवतरुपमा विभाजित भएको छ । वैद्य र विप्लव नेतृत्वका दुई माओवादीलाई जुटाउने अभियान लिएर बनेको न्यूक्लियस आफै फुटेको हो ।

क्रान्तिकारी कार्यदिशाको आधारमा माओवादीलाई एकीकृत गराउने उनीहरुको उद्देश्य रहेको थियो । न्युक्लिअसको मूल नेतृत्व सम्हालेका हेमन्तप्रकाश ओली आफूनिकट रहेका केही नेता–कार्यकर्तालाई समेटेर आज नेत्रविक्रम चन्द नेतृत्वको माओवादीमा समाहित हुने कार्यक्रम रहेको छ । तर न्युक्लिअसको प्रवक्ता रहेका डा. बरालसहितका केही बुद्धिजीवीहरु एकता प्रक्रियाबाट अलग रहने भन्दै वक्तव्य निकालेका छन् । बराल अहिले पनि वैद्य निकट रहेको र केही समयमै वैद्य समूहमा मिसिने तयारी रहेको उनी निकट स्रोतले जनाएको छ ।

आइतबार बिहान डा. बरालले एक विज्ञप्ति जारी गर्दै लेखेका छन्– ‘विखण्डित र विभाजनको अवस्थामा रहेको नेपालको माओवादी आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा एकीकृत गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु आजको आवश्यकता हो र यही आवश्यकता पूरा गर्ने माध्यमका रूपमा कम्युनिस्ट न्युक्लिअस, नेपालको गठन भएको थियो ।’

उनले अगाडि लेखेका छन्, ‘गठनका आरम्भका दिनमा यसले एकताको प्रयासलाई घनीभूत रूपमा अगाडि बढाएको पनि थियो । प्रचण्डको नेतृत्वमा दक्षिणपन्थीहरू ध्रुवीकृत भइरहेको अवस्थामा एकता र ध्रुवीकरणको प्रयास कमरेड मोहन वैद्यले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र विप्लवले नेतृत्व गर्नुभएको नेकपा माओवादीबीच हुनु स्वाभाविक थियो ।’

डा. बरालले अगाडि लेखेका छन्– ‘परन्तु, सशस्त्र जनसङ्घर्षको कार्यदिशालाई नेपाली समाजको विशिष्टताअनुसार अझ ठोस र वैज्ञानिक बनाएर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नीति, योजना र कार्यक्रमप्रति विप्लव समूहको रुचि नरहेको र ‘एकीकृत जनक्रान्ति’ को अमूर्त कार्यदिशाबाट टसमस हुने स्थिति नरहेको कारण नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी र कम्युनिस्ट न्युक्लिअस, नेपालबीच एकताको प्रयासले सार्थक रूप लिन सकेन ।’

‘यसैबीच कम्युनिस्ट न्युक्लिअसका बहुमत सदस्यहरूले विप्लव समूहको कार्यदिशालगायत सबै कार्यक्रमहरू स्वीकार गरी एकताका नाममा विप्लव समूहमा बिलय हुने निर्णय गरेकाले आफू सो निर्णयप्रति असहमत रहेको र विप्लव समूहसित ‘एकता प्रक्रिया’ मा सामेल नभएको यथार्थ प्रस्ट पार्दछु,’ अपिलको अन्त्यमा ऋषिराज बराल लेखेका छन्, ‘साथै, तत्काल नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सित सहकार्य गर्दै, कम्युनिस्ट न्युक्लिअसको सेरोफेरोमा रहेका यस निर्णयप्रति असहमत बुद्धिजीवी साथीहरूसित छलफल गरी आगामी दिनमा कसरी जाने भन्ने कुराको निर्णय गर्ने कुरा पनि प्रस्ट पार्दछु ।’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।