निशुल्कको नाममा बिरामी ठग्दै चरिकोट अस्पताल

 आवाज संवाददाता     २६ जेष्ठ २०७७, सोमबार

रवीन्द्र गौतम । दोलखा

जेठ २६, चरिकोट । दातासँगबाट अनुदान ल्याएर निशुल्क स्वास्थ्यसेवा दिने सम्झौता गरेको न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले सरकारी अस्पतालमा विरामीसँग रकम असुल गरी ठगि गरेको खुल्न आएको छ ।

अमेरिकी दातासँग अनुदान ल्याएर जिल्लाभरका नागरिकलाई निशुल्क स्वास्थ्यसेवा दिने भन्दै स्वास्थ्य मन्त्रालयसँग २०७२ माघ ५ गते सम्झौता गरी व्यवस्थापन जिम्मा लिएको एनजिओले चरिकोट अस्पतालमा आएका विरामीसँग १० हजारदेखि एकलाख ५२ हजारसम्म ठगि गरेको खुल्न आएको हो ।

विभिन्न शल्यक्रिया गर्नु पर्ने प्रकारका विरामी र दुर्घटनामा अंगभंग भएका लगायतका विरामीहरुलाई शल्यक्रिया गर्नुअघि एनजिओका स्वास्थ्यकर्मीले रकमको माग गर्ने गरेको विरामी कुरुवा बताउँछन् । सामग्रीको कृतिम अभाव देखाई सो सामग्री खरिद गर्नु पर्ने भन्दै कतिपय विलसहित, कतिपय विलरहित रकम ठगि गर्ने गरेको विरामीका आफन्तले आरोप लगाएका छन् ।

जेठ १३ गते राडिकल फ्रयाक्चरका विरामीलाई शल्यक्रिया गर्नु पर्ने सामग्री खरिद गर्ने बाहनामा १० हजार ठगि गरेको खुल्न आएको छ । हात भाँचिएर चरिकोट अस्पतालमा उपचार गराउन पुगेका फुर्वा तामाङको भतिजा सोम मोक्तानले १० हजार तिर्नु परेको बताए । निशुल्क भनेर थुप्रै ठाउँ भाषण सुनियो, तर अप्रेसनको बाहनामा पैसा असुल्दा रहेछन्’ मोक्तानले भने ।

गाडी दुर्घटनाका एक विरामीको गोडाको अपरेसन गर्न एनजीओका स्वास्थ्यकर्मीले एकलाख ५२ हजार लिएको उनको आफन्तले बताए । काठमाण्डौं लगायतको स्थानमा शल्यक्रिया गर्दा ६÷७ लाख लाग्ने तर यहिँ अपरेसन गरे डेढ लाख मात्र लाग्ने बताए पछि शल्यक्रियाको सामग्रीको एकलाख ५२ हजार तिरेको उतले बताए । ‘हतार हतार पैसा मागे आफन्तसँग ऋण गरेर तिरेँ बिल माग्दा पछि लिनु भने । पछि बिल माग्दा विरामी नै निको हुने बेला भईसक्यो किन चाहियो बिल भनि नदिएको उनको भनाई छ । निशुल्क अप्रेसन हुने रहेछ, बिल छैन अब कसलाई गुहार लाउनु, त्यत्रो पैसा ठगिएँ ।’ उनले भने ।

चरिकोट अस्पतालका सरकारीतर्फका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले अस्पतालमा सबैप्रकारको सेवा निशुल्क नै रहेको जनाउँदै व्यवस्थापनको जिम्मा न्याय हेल्थले लिएकोले त्यस बारे आफूलाई केहि जानकारी नभएको बताए । न्याय हेल्थ नेपाल दोलखाका मेडिकल डाईरेक्टर विनोद दंगालले अस्पतालमा टार्गेटेड विरामीको लागि सामग्री हुने र विरामीको संख्या धेरै भएकोले शल्यक्रिया सामग्री सकिएकाले खरिदका लागि रकम लिनु परेको बताए ।

स्वास्थ्य मन्त्रालयका तत्कालीन नीति योजना तथा अन्तराष्ट्रिय सहयोग महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ र न्याय हेल्थ नेपालका गभरनेन्श एण्ड पार्टनरशिप डाइरेक्टर एसपी कलौनी विच ५ बर्ष अघि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन जिम्मेवारी सम्वन्धि भएको सम्झौता पत्रको सेवा सम्वन्धि व्यवस्थामा निशुल्क सेवा प्रदान गर्नु पर्ने उल्लेख छ । तर न्याय हेल्थ नेपाल नामक एनजीओले विभिन्न बहाना बनाई विरामीसँग ठगि गर्ने गरेको पुष्टी भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।